विराटनगर, २४ कात्तिक । विराटनगरस्थित जिल्ला कारागार मोरङमा झडप भएको छ ।
झडप भएपछि १४ जना कैदीबन्दीलाई अन्यत्र सारिएको छ । कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले मंगलबार दोहोरो झडप भएपछि १४ जना कैदीबन्दीलाई सुनसरी र झापा लगिएको बताएका छन् ।
सुरक्षाका दृष्टिकोणबाट कारागारका चौकीदार किरण गुरुङसहित १४ जनालाई अन्यत्र सारिएको छ । झापामा ९ र सुनसरीको झुम्का कारागारमा ५ जना पुर्याइएको छ ।
कारागारमा चौकीदार, नाइके तथा कैदीबन्दीबीच दोहोरो झडपमा ६ जना घाइते भएका थिए ।
कारागारका चौकीदार किरण गुरुङ, कैदबन्दीहरु सूर्यदीप गुप्ता, शेखर राई, पदमकुमार लिम्बू र निर्मल ढकाललाई सुनसरीको झुम्का कारागार पुर्याएको छ ।
एलएस नेपाली, रामकुमार लिम्बू, रमेश मण्डल, डिल्ली देवान, रोशन दाहाल, विशाल मोक्तान तामाङ, कपिलकुमार साह, राजु राई र बबीहाङ राईलाई झापा पुर्याइएको पोखरेलले बताए ।
चौकीदार गुरुङसहित निर्मल ढकाल, विशाल मोक्तान, शेखर राई, डिल्ली देवान र सूर्यदीप गुप्ता मंगलबार बिहान भएको दोहोरो झडपमा घाइते भएका थिए ।
चौकीदार गुरुङको समूहमा रहेका नाइके र भाइनाइकेको समूहले अत्याचार गर्ने तथा चरम यातना दिने गरेको भन्दै असन्तुष्ट बनेका अरु कैदीबन्दी झडपमा उत्रिएको कारागार स्रोतको भनाइ छ ।











प्रतिक्रिया