काठमाडौं, २३ कात्तिक । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नौ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका भारत मोतीहारीका ४५ वर्षीय राजहरण साहलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको विक्रम संवत ०७७ माघ २६ को फैसलाअनुसार सात दिन कैद र बिगो बमोजिम नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका साहलाई काठमाडौंको कमलपोखरीबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ परेका साहले ग्लोबल आइएमई बैंक लिमिटेडको ज्ञानेश्वरको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले साहलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । साहलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेस गरिएको छ ।















प्रतिक्रिया