
काठमाडौं, १८ कात्तिक । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाई भाडा बढेको छ ।
तिहारमै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले भाडा बढाएका छन् ।
वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रुटमा प्रतियात्रु ४ सय ४० रुपैयाँसम्म हवाई भाडा बढाएका हुन् ।
कम्पनीहरूले बुधबारदेखि नै लागू हुनेगरी, काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरै प्रति यात्रु अहिलेको भन्दा ४ सय ४० रुपैयाँले भाडा वृद्धि गरेका छन् ।
यसैगरी, काठमाडौंबाट सबैभन्दा कम काठमाडौं– सिमारा छोटो दूरीको रुटमा प्रति यात्रु ९५ रुपैयाँ भाडा वृद्धि गरेका छन् ।
त्यस्तै, काठमाडौंबाट पर्वतीय उडानमा अब साबिकको तुलनामा प्रति यात्रु ३ सय ४५ रुपैयाँले भाडा बढेको छ ।
यसैगरी, काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलका लागि प्रतियात्रु ३ सय रुपैयाँ, काठमाडौं–विराटनगरका लागि प्रतियात्रु २ सय ४० रुपैयाँ, काठमाडौं–जनकपुरका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, काठमाडौं–भरतपुरका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ, काठमाडौं–पोखराका लागि प्रतियात्रु १ सय ५५ रुपैयाँ र काठमाडौं–भैरहवाका लागि प्रतियात्रु २ सय ५ रुपैयाँले हवाई भाडा वृद्धि भएको छ ।
त्यसैगरी, अन्य क्षेत्रको पनि भाडा बढेको छ । तिहार र छठको समयमा हवाई भाडा बढेपछि यात्रुलाई थप मर्का परेको छ ।















प्रतिक्रिया