ढोरपाटन, १७ कात्तिक । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले वडाहरूलाई छुट्याएको बजेट र अन्य विभिन्न शीर्षकका रकममा भ्रष्टाचार गरेको भन्दै भव्य प्रदर्शन भएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (माओवादी क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी), जनमोर्चा, जसपा, राप्रपा, मंगोल नेश्नल अर्गनाइजेशनका नेता कार्यकर्ताले मंगलबार मेयर नेपालीविरुद्ध ढोरपाटनमा प्रदर्शन गरेका छन् । उनीहरूले नगरपालिकाको करबाट उठेको करोडौँ राजश्वलाई आफ्नो सहकारीमा राखेर चलाएको आरोप पनि लगाएका छन् ।
नगरपालिकाको डोजर, गाडीसहितका सवारी साधन आफ्नो व्यक्तिगत काममा लगाएको, नगरपालिकाको गाडी पत्नीलाई बोक्न प्रयोग गरेको लगायतका आरोप कांग्रेसहितका दलहरूको छ ।
प्रदर्शकारीले नगरपालिकाको बजेट दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै कारबाहीको माग गरेका छन् । उनीहरूले भलिवल खेलका नाममा करीव ६० लाख छुट्याइएको रकमको हिसाब किताब पनि सार्वजनिक गर्न माग गरेका छन् । भलिबलमा समेत मेयर नेपालीले अनियमितता गरेपछि मतदाताहरू चकित परेका छन् ।
नगरपालिकाको रकममा भ्रष्टाचार गर्ने मेयर नेपालीलाई नछाड्ने दलका नेताहरूले चेतावनी दिएका छन् ।
ज्ञापन पत्र बुझाउन गएका कांग्रेससहितका दलका नेता कार्यकर्ताको ज्ञापन पत्र बुझ्न मेयर नेपालीले अस्वीकार गरेका छन् । अकुत सम्पत्ति कमाइ गरेका मेयर नेपालीका पछिल्ला हर्कत गतिलो छैन । कांग्रेससहितका दलका नेताहरूले ज्ञापन पत्र बुझ्न डराएर मेयर नेपाली फरार भएको आरोप समेत लगाएका छन् ।
मेयर नेपालीविरुद्ध भएको विरोध प्रदर्शनपछि आयोजित कार्यक्रमका वक्ताहरूले ढोरपाटन नगरपालिकाभित्र भएको भ्रष्टाचार र दोषीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिएका छन् ।
मेयर नेपालीले प्रमुख अतिथि बन्नका लागि रकम सहयोग गर्न आश्वासन दिने र नगरपालिकाको बजेटबाट रकम छुट्याएर दिएर व्यक्तिगत रुपमा दिए जसरी प्रचार गर्ने गरेको आरोप पनि दलहरूको छ ।
नेपाली कांग्रेसका नेता एवम् ढोरपाटन नगरपालिकाका मेयरका प्रत्यासी अर्जुन शेरचन, प्रदेश सभाका उम्मेदवार जित शेरचन, नगर सभापति धनबहादुर कायल, माओवादी केन्द्रका नेता चन्द्र अर्याल, नेकपा क्रान्तिरी माओवादीका नेता नीलबहादुर पुन, जनमोर्चाका गोरीश्वर पाण्डे, नेकपा एकीकृत समाजवादीका नेता केशर छन्त्याल, जसपाका नेता गंगाबहादुर घर्ती, राप्रपाका नेता नीम भण्डारी, मंगोल नेश्नल अर्गनाइजेनका नेता सागर घर्तीलगायतको उपस्थिति रहेको थियो ।





















प्रतिक्रिया