
काठमाडौं, १२ कात्तिक । नेपाल भ्रमणमा रहेको स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ ।
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहेकी सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले शुक्रबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेको हो।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै त्यहाँको प्रदेश तथा स्थानीय तह र नेपालका प्रदेश तथा तहबीच सहकार्य जरुरी रहेको बताए ।
नेपाल र स्पेन सरकारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षपछि स्पेनमा नेपालको दूतावास खुलेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालमा पनि स्पेनको दूतावास स्थापना हुन सकेमा दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म बिस्तार गर्न सकिन्छ। भ्रमणहरु आदान-प्रदानमा पनि सहज हुन्छ । विद्यार्थी, व्यवसायी तथा पर्यटकलगायत सबैलाई सहज हुने भएकाले यो जरुरी छ।’
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले बागमति प्रदेश सभाको निमन्त्रणा तथा लुम्बिनी गार्डेन फाउण्डेशनको कार्यक्रमका कारण पनि आफूहरु बीचको भेटघाट सम्भव भएको भन्दै प्रदेश सभा सभामुख र फाउण्डेशनलाई धन्यवाद दिए ।
गत चैतमा स्पेनका सभामुखको निमन्त्रणामा भएको आफ्नो भ्रमणको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले आफ्ना समकक्षीका रुपमा सभामुखको नेपाल भ्रमण पनि छिट्टै हुने विश्वास व्यक्त गरे।
भेटका क्रममा सभामुख देलगाडोले नेपाल र स्पेन सरकार तथा संसदको सम्बन्ध सुमधुर रहेको बताइन् ।
उनले एक्त्रामादुरा प्रदेश र नेपालका प्रदेशबीच पनि सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि आफ्नो पहल रहने जानकारी दिइन् ।












प्रतिक्रिया