शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सुनिल सेट्टीले ‘एक्स–९’ मा कति लिनेछन् पारिश्रमिक ?

दैनिक नेपाल २०७८ कार्तिक ११ गते ७:२९

काठमाडौं । बलिउड अभिनेता सुनिल सेट्टीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् ।

त्यसका लागि सेट्टी काठमाडौं आउने निश्चित भएको निर्माण पक्षले दाबी गरेको छ । ‘एक्स–९’ चलचित्रमा अभिनयका लागि सेट्टी नेपाल आउने निश्चित भएको निर्देशक मुकुन्द भट्टले बताएका छन् ।

एक्सन थ्रिलर उक्त चलचित्रमा सेट्टीले १२ दिन अभिनयका लागि समय दिएको जनाइएको छ । निर्देशक भट्टका अनुसार ६ दिन नेपालमा र बाँकी ६ दिन स्कटल्यान्डमा उनले सुटिङ गर्नेछन् ।

छायांकन तथा आउने–जाने समय र केही दिनको नेपाल घुमघाम गरेर एक्स–९ ले सेट्टीको २० दिन समय लिनेछ ।

निर्माण पक्षले कति पारिश्रमिकमा सेट्टीलाई अनुबन्ध गरिएको भन्ने सार्वजनिक गरेको छैन । निर्देशक भट्टले पनि पारिश्रमिक खुलाउन चाहेनन् । उनले मोटो रकममा सम्झौता भएको बताएका छन् ।

नेपाली चलचित्र निर्माण लागतका हिसाबले भने एक्स–९ मा मोटो रकम खर्च हुँदैछ । निर्देशक भट्टका अनुसार यसमा करीव १२ करोड रुपियाँ खर्च हुनेछ ।

नेटफ्ल्क्सि, अमेजन अथवा हटस्टारलगायत डिजिटल प्लेटफर्ममा चलचित्र रिलिजका लागि आफूले बलिउडको ठूलो अनुहारलाई लिएर चलचित्र बनाउन लागेको निर्देशक भट्टले बताएका छन् ।

चलचित्रका लागि हलिउडबाट नायिका लिने तयारी गरिरहेको भट्टले जानकारी दिए । हलिउडका चर्चित वेब सिरिजमा काम गरिरहेकी नायिकासँग अनुबन्धका लागि तयारी भइरहेको उनले बताए ।

एक्स–९ आउँदो फेब्रुअरीबाट छायांकन हुनेछ । चलचित्रमा सेट्टीको छायांकनको सिन सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुनेछ ।

बडिमालिका, खप्तड, बैतडीको पाटन र कैलालीका विभिन्न क्षेत्रमा सेट्टीको छायांकन हुनेछ । सुनीललाई नेपालका पर्यटकीय क्षेत्र भ्रमण पनि गराउने निर्माण पक्षको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित