८ कार्तिक २०८३, आइतबार

कांग्रेसभित्र भाँडभैलो, महाधिवेशन अनिश्चित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ ।

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहले नचाहेका कारण महाधिवेशन समयमा हुनेमा अनिश्चितता भएको हो । सभापति देउवाले नेतृत्व गुमाउने हो कि भन्ने डर छ । पौडेल समूहभित्र नेताहरू व्यवस्थापन हुन सकेका छैनन् । देउवा र पौडेल समूहभित्रको डरले गर्दा महाधिवेशन प्रभावित बनेको छ ।

पाँच पटक अधिवेशनको कार्यतालिका हेरफेर भइसकेको छ । कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने तयारी गरेको छ ।

कहिले महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेसभित्र औपचारिक छलफल भने सुरु हुन सकेको छैन ।

कांग्रेसले यसअघि गएको साउनमा ९ देखि १३ मंसिरसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएको थियो । अब मंसिरका लागि तय महाधिवेशन माघमा गर्ने कि वैशाखमा गर्ने भन्ने विषयमा सभापति देउवा निकटका नेताहरूले आन्तरिक छलफल चलाएका स्रोतले जनाएको छ ।

कांग्रेसले प्रदेश तहको अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तय गरेको छ । १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुन सकेको छैन ।

रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक नै भएको छैन ।

पछिल्लो पटक निर्धारित कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँरनगर अधिवेशन २७ भदौ, प्रदेश सभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने उल्लेख छ । यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ ।