शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ओलीको सम्बोधन लाउड स्पिकरबाट सुनाउन एमालेको निर्देशन

दैनिक नेपाल २०७८ कार्तिक ५ गते १३:०८

काठमाडौं, ५ कात्तिक । एमाले केन्द्रीय कार्यालयले कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका तहको अधिवेशन तामझामसहित गर्न निर्देशन दिएको छ ।

बिहीबार पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले स्थानीय तहको अधिवेशनका लागि आठ बुँदे विशेष परिपत्र जारी गरेका हुन् । निर्देशनमा वडा र पालिका तहको अधिवेशनलाई सकेसम्म भव्य बनाउन भनिएको छ ।

जति सक्यो धेरै जनसहभागितामा अधिवेशन गर्न सचिव तामाङले जारी गरेको निर्देशनमा उल्लेख छ ।

निर्देशनमा भनिएको छ, ‘अधिवेशनहरू गर्दा भव्यतापूर्वक सकेसम्म जनसहभागितामा गर्ने ।’ अधिवेशनका बारेमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्न निर्देशन दिइएको छ ।

शनिबार वडा अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट अध्यक्ष केपी ओलीले गर्नेछन् ।

इन्टरनेटको सुविधा भएका वडाहरूलाई जुममार्फत जोडेर ओलीले पार्टी कार्यालयबाट उद्घाटन गर्ने तयारी भएको सचिव तामाङले बताएका छन् । अध्यक्ष ओलीको सम्बोधनलाई लाउड स्पिकरमार्फत अधिवेशन परिसरमा सुनाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित