शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

क्षतिपूर्ति नदिँदा मोतीपुरमा समस्या भयो : रुपन्देही कांग्रेसका नेताहरू

दैनिक नेपाल २०७८ कार्तिक ५ गते ९:०५

बुटवल, ५ कात्तिक । नेपाली कांग्रेस रुपन्देहीका नेताहरूले मोतीपुर औद्योगिक क्षेत्रको समस्यालाई एमालेले सस्तो लोकप्रियताका लागि राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस बुटवल उप–महानगरपालिका–१८ को नगर कार्यसमितिले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा

नेताहरूले एमालेका विष्णु पौडेलका कारण मोतीपुरमा समस्या आएको बताए ।

नेताहरूले मोतीपुरको जग्गा भोगचलन गर्दै आएका किसानहरूको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

रुपन्देही कांग्रेसका पूर्वसभापति रामचन्द्र ढकालले कांग्रेसका नेताहरूले एकता, मेलमिलाप र सहकार्यको नीतिलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।

कांग्रेसलाई कम्युनिस्टहरूले निशाना बनाउने गरेको भन्दै ढकालले कम्युनिस्टको भ्रम र झुठको सबैले जनतालाई बताउनुपर्ने बताए ।

रुपन्देही कांग्रेसका सचिव रामकृष्ण खाणले कम्युनिस्टहरू असफल भएपछि कांग्रेसप्रति जनताको अपेक्षा बढेर गएको बताएका छन् । उनले जनतालाई केन्द्रमा राखेर कांग्रेसका नेता कार्यकर्ताले संगठन निर्मार्ण गर्नुपर्ने बताए ।

सचिव खाणले मोतीपुरमा एमालेले किसानहरूलाई क्षतिपूर्तिको व्यवस्था नगरेर जग्गा अधिग्रहण गर्दा समस्या उत्पन्न भएको बताए । उनले एमालेका नेता विष्णु पौडेलले सस्तो लोकप्रियताका लागि मोतीपुरको जग्गा अधिग्रहण गर्ने निर्णय गराउँदा घटना भएको बताए । खाणले वर्षौंदेखि भोगचलन गर्दै आएका किसानलाई नोक्सान नहुने गरेर सरकारले काम गर्नुपर्ने बताए ।

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य एवम् महासमिति सदस्य विमल ढकालले ऐलानी जग्गामा सानो आकारको औद्योगिक क्षेत्र बनाएर ब्यक्तिगत भोग चलन गरेका जनतालाई सुरक्षित गराउनुपर्ने सुझाव दिएका छन् ।

मोतीपुरको जग्गामा किसानहरूले भोगचलन गर्दै आएको भन्दै ढकालले वर्षौंदेखि बसोबास गरेकालाई उचित व्यवस्था गर्नुपर्ने बताए । उनले किसानहरूलाई जग्गाधनीको पुर्जा दिनुपर्ने बताए ।

नेता ढकालले भने, ‘मोतीपुरको जग्गाका विषयमा एमालेले भ्रम छरेको छ । त्यो भ्रमलाई तोड्नुपर्छ । कांग्रेसका नेता कार्यकर्ताले एमाले र कम्युनिस्टहरूको भ्रमणलाई जनता समक्ष भन्नुपर्छ ।’ उनले विगतमा एमालेले आफ्नो सरकारका पालामा मोतीपुरमा जग्गा अधिग्रहण गर्नुभन्दा पहिला क्षतिपूर्तिको व्यवस्थासहितको निर्णय गरेको भए तनावका स्थिति नरहने बताएका छन् ।

कार्यक्रममा बुटवल उप–महानगरपालिकाका नगर सभापति खिलराज पाण्डे, महासमिति सदस्य विष्णु बस्याल, भगवती चौधरी, वडा सभापति होमराज ढकाल, क्षेत्र नं. ३ का क्षेत्रीय सह–सभापति प्रेम फौदार, सचिव सुशील गुरुङ, प्रदेश सभा उम्मेदवार हरिध्वज मल्ल, जिल्ला सदस्य शिवराम न्यौपाने, पल्टन चौधरी, रमा खड्का, रमेश खनाल, प्रदेश क्षेत्रका सभापति कृष्णबहादुर विष्टलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित