मंगलबार, १४ मंसिर २०७८
DainikNepal.com
मंगलबार, १४ मंसिर २०७८

डोटीमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

दैनिक नेपाल २०७८ कार्तिक ४ गते १७:५०

डोटी, ४ कात्तिक । बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ ।

जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरोमा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कामीको मृत्यु भएसँगै जिल्लामा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मङ्गलबार र बुधबार मात्रै जिल्लामा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको थियो ।

आज एक जनाको उपचारका क्रममा मृत्यु भएको र सायल गाउँपालिका–४ मा घर भत्किएर पुरिएका एक जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टका अनुसार डोटीमा मात्रै बाढीपहिरोको कारण १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढी पहिरोका कारण १२ जना घाइते तथा ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता भएका छन् ।

विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित