बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अविश्वासको प्रस्ताव छल्न एमालेद्वारा बैठक सार्न पत्र, विपक्षीहरू आक्रोशित

दैनिक नेपाल २०७८ कार्तिक ४ गते ६:४२

हेटौँडा, ४ कात्तिक । एमालेले बागमती प्रदेशसभाको प्रदेश सांसद बैठक सार्न पत्र पठाएको छ ।

एमालेको यो निर्णयको विपक्षी दलका नेताहरूले असन्तुष्टि पोखेका छन् । अल्पमतमा परेपछि सरकारको आयु लम्ब्याउन एमालेले प्रदेशसभाको बैठक सार्न खोजेको आरोप लगाएका छन् ।

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान माझीले एमालेले प्रदेशसभाको बैठक सार्न एमालेले प्रस्ताव गरेको निर्णयको विरोध गरेका छन् ।

उनले प्रदेश सरकार अल्पमतमा परिसकेको अवस्थामा संसदबाट विश्वासको मत लिन छाडेर अल्पमतको सरकारलाई केही दिन कायम राख्न एमालेका नेताहरू प्रदेशसभा बैठक सार्ने प्रयासमा लागेको बताएका छन् ।

नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले विपक्षी दलसँग सल्लाह नै नगरी प्रदेश सरकार र सत्तारुढ दल एमालेले आफू अनुकुल प्रदेशसभा चलाउन खोजेको आरोप लगाएका छन् ।

विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्यालले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको दल विभाजित भएको अवस्थामा अल्पमतको सरकारको नेतृत्व गर्नेभन्दा विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने सम्भावित कार्यसूची छ । सत्तारुढ दल विभाजन भएका कारण मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।

प्रदेशसभामा एमालेसँग बहुमत जुट्ने अवस्था छैन । सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरुप एमालेले प्रदेशसभा बैठक सार्न पत्र पठाएपछि बागमती प्रदेशमा एमाले र विपक्षी दलहरूबीच तिक्तता बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित