
काठमाडौँ, २ कात्तिक । उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।
दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका हुन् ।
उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । नर्भिक अस्पतालका चिकित्सक तथा
स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए ।
सो क्रममा उनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए ।
उपराष्ट्रपति निस्किएपछि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँड समेत नेता वैद्यलाई भेट्न नर्भिक पुगेका थिए ।
सो क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत वैद्यलाई सुनाएका थिए । आफू र प्रधानमन्त्रीले समेत वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र उनको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह गरेका थिए ।
आइतबार बिहान नर्भिक भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।












प्रतिक्रिया