शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चाडबाडमा बालबालिकाको स्वास्थ्यलाई कसरी ध्यान दिने ?

एसपी उप्रेती २०७८ असोज २८ गते १४:०७

-एसपी उप्रेती

कुनै पनि चाडबाडको सबैभन्दा बढी रौनक बालबालिकामा देख्न सकिन्छ । नहोस् पनि कसरी बालबालिकाहरु स्वभावैले निकै स्वतन्त्र र खुशी हुने गर्दछन् ।

सानो कुरामा खुशी हुनु, अभिभावकहरुसँग आफूले चाहेको कुराको माग गर्नु, घरमा आएका र उपलब्ध परिकारहरुमा रमाउनु आदि बालबालिकाहरुमा देख्न सकिन्छ ।

त्यस्तै, नेपालीहरुको ठूलो पर्वको रुपमा रहेको विजया दशमी एक अर्थमा बालबालिकाहरुकै पर्वमा रुपमा रहेको देखिन्छ । नयाँ लुगाको उत्साह, पिंग खेल्नमा रमाइलो, टिका लगाउन जानुको मजा, साथीहरुबीच जमघट, दक्षिणा आदि कुराहरुले बालबालिकाहरुमा थप जाँगर दिएको हुन्छ । कतिपय अभिभावकहरुलाई के कसरी खर्च जुटाउने भन्नेबारे चिन्ता हुन्छ भने बालबालिकाहरुलाई त्यसको खास पर्वाह हुन्न ।

अब यस्तो बेलामा बालबालिकाहरुले प्राप्त स्वतन्त्रताका कारण जे पनि माग गर्ने, खान खोज्ने वा आफूलाई प्राप्त पैसाबाट अस्वस्थकर बजारिया खानेकुरा खान सक्ने सम्भावना हुने गर्दछ ।

यस्तो कुरा तत्कालका लागि त बच्चालाई खुशी बनाउला तर दीर्घकालीन रुपमा वा केही दिनमै नकारात्मक असर गर्न सक्छ । उदाहरणका लागि अहिले गर्मी छ यस्तो बेला यदि कम गुणस्तरको वा दिउँसो १ बजेपछि आइसक्रिम खाए भने केही दिनमै घाँटीमा समस्या आउने वा रुघाखोकी लाग्न सक्ने हुन सक्छ ।

तसर्थ यस्ता विषयमा भने अभिभावकहरुले निश्चित रुपमै सचेत हुन जरुरी हुन्छ ।

त्यति मात्र होइन चाहे भेज वा ननभेज खानाका परिकारहरु एकैपटक धेरै खाएको कारणले पनि उनीहरुको स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ ।

यसकारण पनि अभिभावक यस्तो बेलामा अलिक संवेदनशील र सजग हुनुपर्दछ ।

आफ्ना बालबालिकालाई विभिन्न चाडबाडमा कसरी स्वस्थ राख्न सकिन्छ भन्नेबारे तलका उपायहरु अपनाउन सकिन्छ ।

१. बालबालिकालाई प्रशस्त खान दिनुहोस् तर कति मात्रामा दिने भन्ने चाँहि आफ्नो बच्चाको बारे ध्यान दिनुहोस् र स्पष्ट रुपमा बुझाएर खान दिनुहोस् । त्यसो गर्दा मिडो भएकै आधारमा जबरजस्ती धेरै सेवन जसले पाचन प्रणाली आदिमा असर गर्दैन ।

२. बालबालिकाले बजारको जुस वा अन्य प्योकटका खानेकुरा खान बल गर्न सक्छन् । यसको विकल्पमा तपाईँले आफैँ घरमा फलफूलको जुस बनाउनुस् र दिनुहोस् । जस्तै, कागती, निबुआ, अनार, स्याउ, सुन्तला, उखु आदिको जुस बनाएर दिएको खण्डमा अत्यन्तै स्वस्थकर हुनुका साथै स्वादिष्ट पनि हुने गर्दछ । त्यस्तै, दहीमोहीलाई पनि प्राकृतिक जुसको रुपमा सेवन गर्न दिन सकिन्छ ।

३. विहान उठ्ने बित्तिकै उमेरअनुसार करिब एक गिलास मनतातो पानीमो कागती र मह वा नुन लगाएर पिउन दिनुस् जसले पाचन प्रणालीलाई सहयोग गर्दछ र नकारात्मक असर हुन दिँदैन ।

४. उनीहरुले दशैँमा दक्षिणमार्फत पाएको पैसाले आफैँ पनि विभिन्न अस्वस्थकर खानेकुरा खान सक्छन् । यसबाट बचाउन चाँहि उनीहरुको पैसा आफूले बोकिदिने र स्पष्ट बुझाएर स्वस्थकर खानेकुरा किनिदिने वा आफूले कुन कुन खानेकुरा खाने भनेर नियम बनाउनुस् र त्यहीअनुसार गर्न प्रेरित गर्नुस् ।

५. आफ्ना बालबालिकाहरुसँग समय दिएर विभिन्न शारीरिक गितिविधि हुने खेलहरु खेल्नुस् । जसले तपाईँ आफ्नो साथसाथै बच्चाको समेत सक्रियताले गर्दा चाडबाडमा कुनै किसिमको समस्या देखा पर्दैन । जसमा नाच्ने, लुकामारी आदि खेल्न तथा खेलाउन सकिन्छ ।

माथि उल्लेखित उपायहरु सहज छन् । सुरुमा एकैचोटि व्यवहारमा सफल बनाउन कठीन हुन पनि सक्छ । तर अलि अलि बानी बनाउन लगाउने प्रयास गर्नुभयो भने यो सम्भव छ । जसले आफ्ना बालबालिकाको स्वास्थ्य स्थिति चाडबाडमा पनि तन्दुरुस्त हुन मद्दत पुग्दछ ।

प्रतिक्रिया
सम्बन्धित