शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही गर्न इन्सेकको आग्रह

दैनिक नेपाल २०७८ असोज २७ गते ९:२१

काठमाडौँ, २७ असोज । मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारवाही गर्न र उच्चस्तरीय संयन्त्र गठन गर्न इन्सेकले नेपाल सरकारसँग आग्रह गरेको छ ।

असोज २६ गते इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन् ।

‘पीडित नागरिकहरुको अधिकार र न्यायको सुनिश्चितता गर्न नेपाल सरकारसँग इन्सेक जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबिचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमध्ये एक जनाको सनाखत हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएका एक जना कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–१० का ४८ वर्षिय रमेश परियार रहेको प्रहरीले जनाएको छ ।

मृतक परियारको छातीमा गोली लागेकाको र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका–५ का ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी पूर्व स्थायी घर भइ हाल तिलोत्तमा नपा, शङ्करनगर बस्ने १८ वर्षीय युजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इन्सेक रुपन्देही प्रतिनिधिका अनुसार औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका भनिएकाहरू र सुरक्षाकर्मीबिच झडप हुँदा सो घटना हुन पुगेको हो ।

सो घटनामा सशस्त्र प्रहरी बलका तर्फबाट अत्यधिक बल प्रयोग भएका कारण मानवीय क्षति भएको प्रारम्भिक सूचनाले देखाएको इन्सेकले जनाएको छ ।

सुकुम्बासी बस्तिका प्रदर्शनकारीलाई प्रदर्शनका क्रमम संयमता अपनाउन र विरोध कार्यक्रम शान्तिपूर्वक सञ्चालन गर्न पनि इन्सेकले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित