बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मैले विवाह गरेँ कृपया ट्रोल नगर्नुस्ः मनोज गजुरेल

दैनिक नेपाल २०७८ असोज २५ गते १५:३३

काठमाडौँ, २५ असोज । चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।

उनले आफूले विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनले विवाहको फोटो पोस्ट गर्दै विवाहका विषयमा ट्रोल तथा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् ।

उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । गजुरेलले ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए ।

‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु जरुरी थियो । यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो’ उनले अगाडि थपेका छन् ‘बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’

उनले विवाहका विषयमा नकारात्मक समाचार नबनाउन समेत आग्रह गरेका छन् । उनले भनेका छन् ‘सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ– कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीका लागि परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ।’

प्रतिक्रिया
सम्बन्धित