बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेपालीहरूसहित १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीद्वारा उद्धार

दैनिक नेपाल २०७८ असोज २४ गते १०:१८

लण्डन, २४ असोज । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ ।

कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरेको बीबीसले जनाएको छ ।

उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास छ ।

१२६ मध्य १०० भन्दा बढी राजनीतिक सङ्कटमा फसेको हेइटीका नागरिक छन् । नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेको बताइएको छ ।

उद्धारपश्चात् प्रतिक्रिया जनाउँदै एक जना प्रहरी प्रवक्ताले भने, ‘हामीले कन्टेनरबाट कराएको र भित्ता बजारेको आवाज सुन्यौँ । हामीले ढोका खोल्यौँ र आधिकारिक कागजात नभएका १२६ मानिस फेला पार्‍यौँ ।’ु

अधिकारीहरूले ती आप्रवासीहरूलाई ग्वाटेमाला माइग्रेसन इन्स्टिच्यूटद्वारा सञ्चालित आश्रय स्थलमा लैजानुभन्दा पहिले प्राथमिक उपचार दिएका थिए ।

ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले ती आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिका तर्फ अघि बढेको बताएकी छन् ।

उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ । मेक्सिकोका सरकारी निकायहरूले ६५२ जना आप्रवासीहरूलाई नियन्त्रणमा लिएको भोलिपल्ट पछिल्लो घटना भएको हो ।

उक्त घटनामा ३५० जना बालबालिका सहितका मानिसहरू चिसो कायम राख्नका लागि रेफ्रिजेरेटर जडान गरिएको ट्रकमा अमेरिकाको दक्षिणी सीमा नजिकै फेला परेका थिए ।

सेनाको सुरक्षा जाँच स्थलमा आवाजहरू सुनिएपछि उनीहरूले ट्रक खोलेर हेरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित