लण्डन, २२ असोज । ब्रिटेनको युनिभर्सिटी अफ ब्रिस्टलमा इपिडिमियोलोजी विषयमा स्नातकोत्तर तहमा भर्ना भएकी प्रमिला पौडेल, आफ्ना श्रीमान् र १५ महिनाकी छोरीसहित गत ३ अक्टोबरमा लन्डन पुगिन् ।
ब्रिटेनले नेपाललाई कोभिडका कारण यात्रा प्रतिबन्ध लगाएका मुलुकहरूको सूची (रेड लिस्ट)मा राखेका कारण उनको पूर परिवार १० रात, ११ दिन होटेल क्वारन्टिनमा बस्नुपर्ने भयो ।
‘हामीले होटेलको खर्च बापत मात्रै ३,७०० पाउन्ड (झन्डै ६ लाख रुपैयाँ) तिर्नु पर्यो । पढाइ शुरू भइसकेको र विश्वविद्यालयले ताकेता गरेका कारण ढिला गर्न पनि मिलेन’, उनले भनिन् ।
बिहीवार ब्रिटिश सरकारले रातो सूचीमा राखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेपछि अब ब्रिटेन आउने नेपाली विद्यार्थी तथा अन्य यात्रुले त्यस्तो थप खर्च गर्नुपर्ने छैन । सोमवारदेखि नयाँ नियम लागु गरिनेछ ।
नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रेड लिस्टबाट हटेकोमा ट्विटरमा खुशी व्यक्त गरेकी छन् । नयाँ नियम अनुसार ब्रिटिश सरकारले ुपहेँलोु सूची नै हटाएको छ भने हरियो सूचीमा रहेका मुलुकको सङ्ख्या ह्वात्तै बढाएको छ ।
ब्रिटिश यातायातमन्त्री ग्रयान्ट शाप्सले नयाँ नियमहरू ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा एउटा नयाँ पाइला भएको बताए ।
ब्रिटिश सरकारले बिहीवार एउटा सूचना जारी गर्दै अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्रै ुरेड लिस्टु मा रहने घोषणा गरेको छ । यसअघि नेपाल लगायत ५४ ओटा मुलुक रेड लिस्ट मा थिए । बीबीसी











प्रतिक्रिया