८ कार्तिक २०८३, आइतबार

नौ दिन नौ दुर्गाको पूजा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । नेपाली हिन्दूहरूको ठूलो पर्व दशैँ आजदेखि शुरु भएको छ । आजदेखि नवदुर्गा पनि शुरु भएको छ ।

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउछन् । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ ।

बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठपारायण पनि गर्ने गरिन्छ ।

यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ ।

नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र १० दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए ।

आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज २९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फुल, प्रसाद ग्रहण गर्ने गरिन्छ ।

असोज २९ गते देवी विसर्जनको साइत बिहान ०८स्१९ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०स्०२ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । गत वर्ष जस्तो कोरोना महामारी यस वर्ष दसैँमा नभए पनि जोखिम अन्त्य नभइसकेकाले सचेतना अपनाउन समितिले आह्वान गरेको छ ।

पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ ।

बिहीबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

दसैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । कोरोना जोखिम कायमै रहे पनि यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि दिइने भएको छ ।

कोरोना महामारीका कारण गत वर्ष बलि स्थगित गरिएको थियो । यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर बलिसहित पूजा आराधना गरिनेछ ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् ।