शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

फेसबुकले बालबालिकालाई हानि पुर्‍याउने र प्रजातन्त्रलाई कमजोर पार्ने

दैनिक नेपाल २०७८ असोज २० गते १०:११

न्युयोर्क, २० असोज । फेसबुककी एक पूर्वकर्मचारीले उक्त प्रविधि कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने अमेरिकी विधायकहरूसँग बताएकी छिन् ।

उनले त्यसबारे जान्दाजान्दै पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको बताइन् ।

फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले सो कम्पनीका गोप्य कुराहरू चुहाएकी थिइन् ।

र, उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिइन् ।

फेसबुकले भने श्रीमती हाउगनले आफ्नो ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्ना सुरक्षाको अवस्थाको बचाउ गरेको छ ।

तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ ।

मङ्गलवारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा दुर्लभ रूपमा एकै ठाउँमा देखिएका थिए ।

उक्त विशाल प्रविधि कम्पनीमाथि छानबिन र नियमनको बढ्दो माग भइरहेका बेला यी अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन् ।

२।७ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो ।

करोडौँ प्रयोगकर्ता सोही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँछन् ।

तर फेसबुक कम्पनीमाथि प्रयोगकर्ताका गोपनीयता संरक्षण गर्नेदेखि गलत सूचना प्रवाह रोक्न पर्याप्त काम नगरेको भन्दै आलोचना हुने गरेको छ ।

हाउगनले फेसबुक आफै नसुध्रिने भन्दै अमेरिकी संसद् कङ्ग्रेसको हस्तक्षेप आवश्यक रहेको बताइन् । बीबीसी

प्रतिक्रिया
सम्बन्धित