८ कार्तिक २०८३, आइतबार

‘ओलीको देवत्वकरण गरेका छैनौँ, ओली जस्तो नेता देशमै छैन’

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष केपी ओलीको देवत्वकरण नगरेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान अन्तर्वार्ताका क्रममा नेता गुरुङले ओली जस्तो नेता सिंगो देशमै नभएको बताए । ‘केपी ओली एमालेको प्रतीक हो । तर उहाँ नेता हो, देवता होइन’, उनले भने, ‘एमाले भगवान् मान्दैन, पूजा गर्दैन ।’

‘ओलीको फोटोमा घण्टी बजाएर पूजा गरिएको छैन । तपाईंहरू ओलीलाई किन लखेट्नुहुन्छ ? किन डाह र रिस गर्नुहुन्छ ?’, उनले भने, ‘हामीले ओलीको विचार, इमान र सक्रियतालाई समर्थन गरेका हौं ।’

नेता गुरुङले भने, ‘उहाँ एमालेको मात्र निर्विकल्प नेता होइन, उहाँजत्तिको नेता अर्को कुनै पार्टीमा छैन । अब ओलीलाई लखेटेर केही हुनेवाला छैन ।’

ओलीको भिजन र इच्छाशक्ति देखेर सिंगो कम्युनिस्ट आन्दोलनका लागि वरिपरि गोलबन्द भएको उनले बताएका छन् ।

‘यहाँ १७ हजार जनता मारेको आरोप लागेका मानिस कुनै पार्टीका अध्यक्ष छन् । लोकतन्त्रलाई दरबारमा बुझाएको नेता प्रधानमन्त्री छन्’, एमालेका सचिव गुरुङले भने, ‘निजी स्वार्थका लागि फस्ट म्यान हुन सकिन्न । प्रधानमन्त्री हुन सकिन्न भन्ने लागेर पार्टी छाडेका मानिस नेता छन् ।’

उनले भने, ‘१५ वर्ष पार्टी महासचिव बनाउँदा पनि कोही अघाउँदो रहेनछ । कसैलाई १२ वर्ष अध्यक्ष बन्दा पनि पुग्दो रहेनछ ।’

‘कोही ४० वर्षसम्म अध्यक्ष हुँदा पनि हस्तान्तरण गर्ने जाँगर चलाउँदैनन् । ओलीको त भरखर एक कार्यकाल सकिएको हो’, उनले भने, ‘अर्को कार्यकाल अध्यक्ष हुन पाउने वैधानिक व्यवस्था छ । त्यसमा पनि तीन वर्ष शून्य अवधि मानिएको छ ।’

‘ओलीको उमेर अहिले ६८ वर्षमात्र हो । एघारौं महाधिवेशनमा हामीमध्ये कोही हुन्छौं’, उनले भने, ‘जबर्जस्ती नेतृत्वमा पुग्नुको अर्थ छैन । उमेर र अनुहार निरपेक्ष कुरा हुन् ।’
उनले विधान महाधिवेशनपछि एमाले एकताबद्ध भएर अघि बढेको र वैचारिक रुपमा समस्या नरहेको बताएका छन् ।

‘माधव नेपाल र झलनाथ खनाल पार्टीबाहिर जाँदा एक/दुई प्रतिशत घाटा भएको छ’, उनले भने, ‘हामीले बुझ्नुपर्ने के छ भने झलनाथ खनाल या माधव नेपाल बनेको एमालेका कारण हो । एमालेकै कारण उहाँहरू अध्यक्ष र प्रधानमन्त्री हुनुभएको हो ।’

उनले वामदेव गौतमले पार्टी विभाजनमा खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् ।

‘वामदेवले पार्टी छाड्नुको कुनै अर्थ छैन । पार्टीमा विकराल अवस्था ल्याउने एक मात्र व्यक्ति उहाँ हो’, सचिव गुरुङले भने, ‘उहाँले नेकपा हुँदाखेरि नै खलनायिकीय भूमिका निर्वाह गर्नुभयो ।’

उनले भने, ‘सचिवालयमा बसेर दायाँबायाँ गरिरहेकाले उहाँलाई आफ्नो स्वार्थमा प्रयोग गरे । आज प्रतिक्रान्तिमा लाग्नुभयो ।’

‘उहाँको प्रभाव र ऐतिहासिक गौरव गाथा समाप्त भयो । यो राजनीतिक आत्महत्या हो’, नेता गुरुङले भने, ‘भीरबाट खस्नेलाई हामीले राम राम भन्ने मात्र हो । हिजो अब कथा भइसक्यो ।’

नेता गुरुङले अब निर्वाचनमा जानु नै उपयुक्त हुने बताएका छन् । ‘सात प्रदेशमध्ये गण्डकी र लुम्बिनी सरकार अब्बल थिए । तिनलाई जबर्जस्ती हटाए’, उनले भने, ‘राम्रो सरकार दिन सकेनन् । सबै विकास योजना काटे, कार्यकर्तालाई पैसा बाँडे । अब सक्दो चाँडो निर्वाचनमा जानुपर्छ ।’