बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सिलवालले तेक्वान्दोमा मनपरी गर्न खोजेपछि देउवाले लगाए डण्डा, मागे स्पष्टीकरण

दैनिक नेपाल २०७८ असोज १९ गते ७:५१

काठमाडौं, १९ असोज । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल र परिषदका सीमित कर्मचारीहरू नेपाल तेक्वान्दो संघभित्र चरम हस्तक्षेप बढाएर लाभ लिने चलखेलमा लागेका छन् ।

संघभित्र हस्तक्षेप बढाउन खोजेपछि खेलकुद मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्य सचिव सिलवालसँग स्पष्टीकरण सोधेका छन् । देउवाको स्पष्टीकरणले सिलवाल र परिषदका कर्मचारीहरूलाई तनाब भएको छ ।

सिलवाल र परिषदका सीमित कर्मचारीहरूले संघबाट खाइपाइआएको सेवा सुविधामा र्‍याल चुहाउने गरेका छन् । स्वदेश वा विदेशमा हुने प्रतिस्पर्धा वा अवसर परिषदका सदस्य सचिव सिलवाल र सीमित कर्मचारीहरूले मात्रै लिने गरेका छन् । तेक्वान्दो संघलाई कठपुतली बनाएर खाइपाइआएको सिण्डिकेटलाई अन्त्य गर्न दवाव बढेको छ ।

संघको भैरहवामा सम्पन्न महाधिवेशनलाई विथोल्न सदस्य सचिव सिलवालले पत्र नै काटेका थिए । उनले पत्र काटेपछि संघका अध्यक्षसहितका पदाधिकारी र खेलाडीहरूले प्रधानमन्त्री देउवासँग गुहार मागेका थिए । देउवाले परिषद र संघको विधानअनुसार तेक्वान्दो संघ स्वायत्त रहेको भन्दै महाधिवेशन गर्न अनुमति दिएका थिए । संघ स्वायत्त छ ।

संघले महाधिवेशनका लागि परिषदसँग लिखित रुपमा प्रतिनिधि माग गर्दा मात्रै परिषदले पठाउने हो । अन्यथा तेक्वान्दो संघले स्वायत्त भएर काम गर्न पाउँछ । नयाँ विधानले तेकवान्दो संघलाई स्वायत्ततता दिएको छ । यो जान्दा जान्दै सिलवाल र सीमित कर्मचारीहरूले हस्तक्षेप बढाउन खोजेका छन् ।

नेपालमा हालैसम्पन्न साग गेममा तेक्वान्दोले सबैभन्दा धेरै गोल्डमेडल जितेर देशको नाम चम्काएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि तेक्वान्दोले पदकहरू ल्याउने गरेको छ ।

तेक्वान्दो संघमा हस्तक्षेप गर्न खोजेको लगायतका आरोपका विषयमा प्रतिक्रिया लिन परिषदका सदस्य सचिव सिलवालसँग हुन सकेन ।

सिलवालले फोन उठाएनन् । प्रवक्ता कुलबहादुर थापासँग पनि सम्पर्क हुन सकेन । परिषदको वेबसाइटमा प्रवक्ताको नाम र फोटो राखिएको छ । तर, फोन नम्बर छैन ।

संघभित्र राजनीतिक हस्तक्षेप गरेर परिषदका सदस्य सचिव सिलवाल र सीमित कर्मचारीहरूले सबै सेवा सुविधा लिन खोजेको आरोप छ ।

क्षेत्राधिकार बाहिर गएर सिलवालले पनि संघभित्र हस्तक्षेप गरेर आफू निकटका खेलाडी, कोच, कर्मचारीलाई अवसर दिने गरेको आरोप छ । तेक्वान्दो संघलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । संघ कमजोर बनाउन विभिन्न हर्कतहरू पनि भएका छन् ।

माओवादी केन्द्रको सरकार भएको बेलामा परिषदका तत्कालीन सदस्य सचिव युवराज लामाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दवावमा माओवादी निकटको तेक्वान्दो संघ दर्ता गरेका थिए ।

माओवादीको संघलाई वर्ल्ड तेक्वान्दो महासंघ र एसियन तेक्वान्दो महासंघले मान्यता दिएको छैन । माओवादी निकटको तेक्वान्दो संघको अध्यक्ष शिव कोइराला छन् । कोइराला हाल परिषदको उपाध्यक्ष पनि छन् ।

तेक्वान्दो संघमा नयाँ नेतृत्व आएको छ । संघलाई नयाँ नेतृत्वले विधानअनुसार अगाडि बढाउने चुनौती छ । परिषदभित्रका सीमित कर्मचारी र सदस्य सचिव सिलवालको सिण्डिकेट हटाएर खेल, खेलाडी, प्रशिक्षक र राष्ट्रको नाम उँचो बनाउनुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित