मुम्बई । भारतकी सदाबहार गायिका लता मंगेशकर ९२ वर्ष पुगेकी छन् । गायिका लता जन्मदिन मनाउने ‘मुड’मा भने छैनन् । बलिउड हंगामाका अनुसार उनले कोरोना महामारीका कारण जन्मदिन मनाउने माहोल नरेहको बताएकी हुन् ।
‘प्यान्डेमिक सुरु भएको एक वर्षभन्दा बढी भयो । कोरोना भाइरस फैलिएपछिको यो मेरो दोस्रो जन्मदिन हो’, उनले भनेकी छिन्, ‘अहिलेको परिस्थितमा सबैभन्दा ठूलो उपहार भनेकै मसँग मेरो परिवार र मलाई माया गर्नेहरू साथ छन् ।’
उनले भनेकी छन्, ‘यो बेला कति मानिसले आफ्नो अभिभावक र सन्तानले एकअर्काको मुख देख्न पाएका छैनन् । यस्तो समयमा कसले केक काट्ने र मैनबत्ती बाल्नेबारे कसले सोच्न सक्छ ?’
यस वर्षको जन्मदिनमा गायिका लताको कामना छ, ‘म चाहन्छु हाम्रो जीवनबाट कोरोना भागोस् । सायद अब यसले कसैको ज्यान लिने छैन । बारम्बार यसले निम्त्याएको संकटका झट्काले धेरैलाई डिप्रेसनमा धकेल्दै छ । विगत डेढ बर्षले हाम्रो जीवनलाई पूरै परिवर्तन गरेको छ । हाम्रो स्वास्थ्य र हाम्रा प्रियजनहरुलाई हलुका रुपमा नलिम् । हाम्रो जीवनमा महत्व राख्नेहरु हरेक क्षण अनमोल छ ।’
भारतकै सर्वोच्च गायिकाको उपमा पाएकी लताले आफ्नो जन्मदिनमा आफू परिवारसँग हुन पाउँदा आफ्नो भाग्यप्रति कृतज्ञ रहेको बताउँछिन् । ‘मेरा भाइ, मेरी बहिनी र बहिनी ज्वाइँ सबै मसँग छन् । मलाई लाग्छ कि म धेरै भाग्यशाली छु’, उनले भनेकी छिन्, ‘म चाहन्छु कि मेरा सबै प्रशंसक र शुभचिन्तकहरू मलाई माया गरिरहनु होस् । यो उहाँहरूको शुभ कामना हो जसले मलाई यति लामो सक्रिय राखेको छ ।’
सन् १९४० को दशकदेखि पार्श्व गायन सुरु गरेकी लताले हजारौं गीतमा आफ्नो सुमधुर आवाज दिएकी छन् । उनले भारतका सबैजसो स्थापित संगीतकार, गीतकारसँग काम गरेकी छन् भने फरक पुस्तका चर्चित अभिनेत्रीहरूका लागि आफ्नो स्वर दिएकी छन् ।
एक दर्जनभन्दा बढी भाषामा गीत गाएकी गायिका लताले हेमन्त कुमारको संगीत र मविवि शाहको शब्दमा ‘आकाशमा तिरमिरे तारा’, शिखर सन्तोषको संगीत र आनन्द अधिकारी शब्दमा गायक रामकृष्ण ढकालसँग ‘बाँचुन्जेलीलाई’ जस्ता गीतसमेत गाएकी छन् ।















प्रतिक्रिया