७ कार्तिक २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य बढाउने सरकारको तयारी, कति पुग्नेछ नयाँ मूल्य ?

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले घाटा कम गर्न मूल्य बढाउन लागेको जनाइएको छ ।

निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मटितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार ९६१.८८ रुपैयाँ लागत पर्नेछ ।

निगमले भदौ ७ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको थियो । जसअनुसार प्रतिलिटर पेट्रोलको १३० रुपैयाँ, डिजेल र मटितेलको ११३ रुपैयाँ, आन्तरिक हवाई इन्धनको ८६ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार ४५० रुपैयाँमा कारोबार चलिरहेको छ ।

निगमका अनुसार भदौ ७ गते गरिएको समायोजनमा समेत निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७.०१ रुपैयाँ नोक्सान, मटितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १.९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सान रहेको छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै एक अर्ब ५० करोड ७३ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ ।

निगमले घाटा कम गर्न यदि मूल्य बढाउने हो भने पेट्रोलको प्रतिलिटर १४० रुपैयाँ तोक्नुपर्ने हुन्छ । तर उपभोक्ता भने विद्यमान मूल्य नै चर्को भएको गुनासो गर्दै आएका छन् ।