शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चिनियाँ टेलिकम हुवावेकी उपाध्यक्ष सरविना स्वदेश फर्किइन्

दैनिक नेपाल २०७८ असोज १० गते ८:३८

लण्डन, १० असोज । चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ तीन वर्षपछि स्वदेश फर्किएकी छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ४९ वर्षीया सरविनालाई लिन चीन सरकारले चार्टर्ड जहाज क्यानडा पठाएको थियो। उनी चढेको जहाज शनिबार राति स्थानीय समयअनुसार ९ बजेर ५० मिनेटमा सेन्जेन विमानस्थलमा अवतरण भएको थियो ।

चिनियाँ राष्ट्रिय झन्डा बोकेर थुप्रै मानिसहरूले विमानस्थलमा उनको स्वागत गरेका थिए । सेन्जेनमा हुवावेको मुख्यालय पनि रहेको छ ।

हुवावेका संस्थापक रेन झेङफेईकी छोरी मेङलाई सन् २०१८ डिसेम्बर १ मा मेक्सिको जान लाग्दा क्यानडाको भ्यानकुवरबाट पक्राउ गरिएको थियो ।

अमेरिकाले प्रतिबन्ध लगाएको इरानमा टेलिकम्युनिकेसन सामग्री पठाएको र बैंकिङ कसुर गरेको भन्दै अमेरिकाले मेङलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

सोही आरोपमा क्यानेडियन अधिकारीहरूले उनलाई पक्राउ गरेका थिए ।

उनलाई अमेरिका सुपुर्दगी गर्नेबारे लामो समयसम्म छलफल भएको थियो । सोही कारणले चीनको अमेरिका र क्यानडासँगको सम्बन्ध चिसिएको थियो ।

सरविना पक्राउ परेलगत्तै चीनले पनि दुई क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो ।

सरविनालाई पछि क्यानडाको अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसका लागि उनले कडा सर्तहरू पालना गर्नुपर्ने थियो ।

समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय अमेरिकी अभियोजनकर्ताहरू सरविनाविरूद्धको बैंकिङ कसुरको मुद्दा फिर्ता लिन सहमत भएका थिए । उक्त सहमतिपछि सरविनाको स्वदेश फर्किने ढोका खुलेको हो ।

स्वदेश फर्किएकी सरविनाले सेन्जेन विमानस्थलमा छोटो सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रपति सी चिनफिङप्रति कृतज्ञता व्यक्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित