शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एमालेको बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने

दैनिक नेपाल २०७८ असोज १० गते ८:१६

काठमाडौं, १० असोज । एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशनका प्रस्ताव पारित गर्ने तयारी छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अस्ति शुक्रवारदेखि सुरु भएको बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि समूहगत रुपमा आएका धारणाको जवाफपछि पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उप–महासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिए ।

यसअघि हिजोको बैठकमा १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरेका छन् ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र रहन पाउने र ७० वर्षे उमेरहदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने, युवापुस्ताको प्रतिनिधित्व बढाउनुपर्नेलगायतका सुझाव आएको बताए।

बैठकमा पार्टी एकतादेखि विभाजनसम्मको समीक्षा गर्नुपर्ने माग समेत उठेको छ । सुझाव सकिएपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रतिवेदन पारितपछि आउँदो १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित