शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आत्मनिर्भर केन्द्रको सामाजिक लेखाजोखा सम्पन्न

दैनिक नेपाल २०७८ असोज ८ गते २२:०५

काठमाडौँ, ८ असोज । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले १४ औँ सामाजिक लेखाजोखामार्फत वार्षिक कार्यक्रम, उपलव्धि, आम्दानी र खर्च सार्वजनिक गरेको छ ।

साथै संस्थाले भावी योजनाबारे पनि जानकारी गराएको छ । आत्मनिर्भर केन्द्रले वि.स. २०६४ देखि वार्षिक रूपमा सामाजिक लेखाजोखा गर्दै आएको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगकासदस्य लिली थापाले गरे ।

आत्मनिर्भर केन्द्रले आ.व. २०७७/०७८ मा कुल ७ करोड ५१ लाख ८५ हजार ४ सय ४४ रुपियाँ उपयोग गरेको छ । आत्मनिर्भर केन्द्रका निमित्त कार्यकारी निर्देशक कल्पना कार्कीले प्रगती प्रतिवेदन र अपरेशन संयोजक गीता पण्डितले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।

हालसम्म संस्थाको सहजीकरणमा ८१,७८० परिवारले ७,६८६ हेक्टर जमिनमा स्वामित्व कायम गरेका छन् । १०,२५५ दम्पतीले २,७८१ हेक्टर जमिनमा संयुक्त पुर्जा बनाई समान अधिकार कायम गरेका छन् ।संस्थाले यस वर्ष ७ प्रदेशको १४ स्थानीय तहसँग सहकार्य गरी १७,३३८ भूमिहीन र ७४,१९९ अव्यवस्थित बसोबासीको लगत सङ्कलनमा सहयोग गरेको थियो ।

संस्थाको सहजीकरणमा दाङ र धनुषाका २७६ भूमिहीन परिवारले २१.५ हेक्टर बाँझो जमिन उपयोग गरी तरकारी तथा खाद्यान्न उत्पादन गरी खाद्य सुरक्षाका साथै आम्दानीमा वृद्धि गरेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बुको तेम्बाथाङ र नोर्बुलिङ एकीकृत वस्तिका ४० परिवारको जीविकोपार्जनमा सहयोग पुर्याएको छ । पाँचपोखरी थाङ्पाल र जुगल गाउँपालिकामा भौगर्भिक अध्ययन गी पहिचान भएका अति जोखिमयुक्त ३१ वटा बस्तीमा स्थानीय तहसँगको साझेदारीमा साना अल्पीकरणका कार्यक्रमहरू सम्पन्न गरेको छ ।

जुगलको लिदी पहिरोबाट प्रभावित ३० परिवारलाई अस्थायी आवासमा सघाएको छ । मेलम्ची बाढी प्रभावित अति विपन्न २१० परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । हेलम्बुका बाढीबाट विस्थापित अति विपन्न २० घरपरिवारलाई अस्थायी घर निर्माणमा सघाएको छ ।

संस्थाले मोही जग्गा बाँडफाँडको स्थिति र बेदर्ताका मोहीको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन प्रकाशित गरेको छ साथै हरूवा चरुवा समुुदायको गरिबी र जलवायु परिवर्तनबारे धनुषा जिल्लाको धनौजी गाउँपालिकामा अध्ययन गरी प्रतिवेदन प्रकाशित गरेको छ । संस्थाले कोभिड नियन्त्रण तथा रोकथाम पहलको लागि पनि समुदाय तहमा कामहरू गरेको प्रगती प्रस्तुती गरेको थियो ।

लेखाजोखाको अवसरमा सहभागी हुँदै, जेसी विष्लेशक सरिता कार्की, युएन–ह्याबिटाटका कार्यक्रम संयोजक राजाराम छतकुली, त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभाग प्रमुख डा.डम्बर चेम्जोङ, शिक्षा अभियान्ता पुनम कुँइकेल, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामा, जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङ, गैरसरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले आत्मानिर्भर केन्द्रले भूमि अधिकार अभियानको क्षेत्रमा गरेको काम उपलब्धिमूलक रहेको र सामाजिक लेखाजोखा कार्यक्रमले संस्थागत पारर्दिशता र सुशासनको असल अभ्यासको उदाहरण दिएको बताए ।

आत्मनिर्भर केन्द्रले संस्थागत पारदर्शिता र जवाफदेहीता प्रवर्धन गर्न एवम् संस्थाको कामको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न वार्षिक रुपमा सामाजिक लेखाजोखा गर्दै आइरहेको छ ।

भूमिहीन एवम् साना किसानको मर्यादित जीवनको दृढ लक्ष्य बोकेर यो संस्था २७ वर्षदेखि निरन्तर भूमि अधिकारको अभियानमा क्रियाशील छ । लेखाजोखामा अन्त्यमा संस्थाका अध्यक्ष गोपाल थापामगरले सहभागी सबैलाई धन्यवाद् व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित