मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कमरेड प्रचण्ड, गोबर तपाईंको दिमागमा भरिएको कि ओलीको ?

निर्मल भट्टराई २०७८ असोज ८ गते ९:२७

निर्मल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) चलाउन नसकेर कुनैबेला एमालेसँग टाँसिन आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि त्यही पार्टी चलाउनु परेको, आफ्ना सहकर्मीले निरन्तर छोड्दै गएको र नेपालको राजनीतिमा आफ्नो निरन्तर क्षयीकरण भइरहेका कारण हिजोआज निकै विक्षिप्त बन्न थालेका छन् ।

त्यही विक्षिप्तताको कारण हुनसक्छ, उनले काभ्रेको एक कार्यक्रममा नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय नेता नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओलीलाई ‘गिदीमा गोबर भरिएको’ अशोभनीय टिप्पणी गरेका छन् ।

वास्तवमा कमरेड प्रचण्ड नेकपा(एमाले) र यसका अध्यक्ष के पी शर्मा ओलीलाई जनताले गरेको अपार समर्थन देखेर हैरान छन् । उनले ओलीलाई विगतमा पनि निकै अशोभनीय गाली गरे, तथाकथित जनयुद्धको ओलीले आलोचना गरेका कारण ओलीलाई आफ्नो प्रमुख दुश्मनको रूपमा व्यवहार गरे । एमाले र खासगरी एमालेको जनताको बहुदलीय जनवादको सच्चा हिमायती पक्षलाई निरन्तर अस्वीकार गरिरहे ।

प्रचण्ड विचारलाई ‘गाँजरको बाँसुरी’ बनाउने नेता हुन् । आफ्नो र आफ्नो परिवारको हितको लागि हजारौं नेपाली होनहार छोराछोरीलाई बलिवेदीमा चडाउन उनले माओवादको इस्तेमाल गरे । आफूलाई नेपाली माओ भएको, चीनमा जस्तै नेपाली सत्ता बलपूर्वक कब्जा गर्ने घोषणा गरे । नेपालको माटोमा जन्मिएको र हुर्किएको जबजलाई ‘दक्षिणपन्थी संशोधनवादी’ ऐलान गरे । पछि एमाले र काङ्‌ग्रेससँग बाह्रबुँदे सम्झौतामार्फत् सहकार्यमा आएपछि उनी विचारशून्य बने । त्यतिबेलादेखि नै उनको दिमागमा गोबर भरिन थाल्यो । बन्दुकको बलमा उदाएका प्रचण्ड सत्तामा पुगेपछि पैसाको पछि लागे । ‘कि शक्ति बन्दुकमा कि शक्ति पैसामा’ उनको नयाँ सिद्धान्त बन्यो ।

हरहमेसा आकर्षक पद र राजनीतिक सुविधा आफ्नो परिवारलाई दिएर बदनाम बनेका प्रचण्डलाई धेरैले देशको नारा भजाएर आफ्नो सुविधाको लागि काम गर्ने नेताको रूपमा चिन्न थालेका छन् ।

कथित जनयुद्धमा भारतबाट हतियार र अन्य सहयोग पाएका प्रचण्ड खुल्ला राजनीतिमा आएदेखि नै भारतको विश्वासपात्र बने । केही समयसम्म चिनिया सत्तारूढ कम्यिनिष्ट पार्टीलाई भ्रममा राख्न सफल भए पनि अब त्यो भ्रम पनि हटेको छ । एमालेविरोधी गठबन्धन बनाउने सिलसिलामा उनले भारतको लागि कम्फर्टेवल सरकार बनाउन ओलीलाई हटाउन आवश्यक भएको बताएका थिए । भारतीय गुप्षचर संस्था ‘र’सँग उनको स्थायी प्रकारको सम्बन्ध, राष्ट्रवादी एमालेविरोधी गठबन्धन बनाउन उनको निर्णायक भूमिका, उनको पार्टी सम्मिलित सरकारले चीनसँग गरेको सीमा बखेडाले उनी भारतका सच्चा समर्थक हुन् भन्ने प्रष्ट भएको छ ।

प्रचण्ड एमालेसँग आक्रोशित छन् । एमालेलाई तहसनहस पार्न एमालेभित्रै पसेर षणयत्र गरे, एमाले डगमगाएन । एमाले फुटाउन माधव नेपाललाई सुर्‍याउनु सुर्‍याए, तर पनि करिब पन्चानब्बे प्रतिशत एमाले एक ढिक्का रह्यो । नेपाली राजनीतिमा उनका माधव नेपाल लिलिपुटको रूपमा मात्र देखा परे । सूर्य चुनाब चिन्हमा धावा बोले, पाएनन् । एमालेले दुःख गरेर जोडेको भौतिक सम्पत्तिमा र्‍याल काढे, छुनसम्म पाएनन् । ओलीलाई सत्ताच्यूत गरेपछि एमाले सकिन्छ भन्ने गलतफहमी पाले, एमाले झन लोकप्रिय बन्यो । ओलीलाई जनताले राजनेता मानिरहे ।

ओलीले प्रचण्डजस्तो आफ्नो व्यक्तिगत स्वार्थको लागि विचारको सौदावाजी कहिल्यै गरेनन् । आफ्नो सत्ता टिकाउन प्रचण्डको जस्तो शक्तिकेन्द्रको चाकडी कहिल्यै गरेनन् । देशको हितमा काम गरे, कसैको कम्फर्टेवल बन्न चाहेनन् । सत्तालाई आफ्नो परिवारको मागी खाने भाँडो कहिल्यै बनाएनन् । बरु देशको क्षेत्रफल बढाए, देशको आर्थिक समृद्धिको अभियान चलाए । जनताको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान गरे । श्रमिक, जेष्ठ नागरिक, एकल महिलाको मुहारमा हाँसो अभिवृद्धि गरे । राजनीतिमा किनार लागि सकेका प्रचण्डलाई आफ्नै हैसियत दिएर बचाउन खोजे । छरिएर रहेका कम्युनिष्टलाई एकताबद्ध बनाउन खोजे । देशबाट देशी विदेशी प्रतिक्रियावादी हैकम घटाउन भगिरथ प्रयत्न गरे । गरिरहेका छन् ।

जनता अहिले सोध्दैछन्- आखिर प्रचण्डले देश र जनताको लागि के गरे ? सयौं परिवारमा आँसुको आहाल, भौतिक संरचनाको वेहाल । सत्तामा पुगेपछि उही सामन्ती ताल ।

जो आफू फोहोरको डङ्‍गुरमा उभिएको छ, उसले अरूको गिदीमा गोबर भरिएको देख्नु के ठूलो कुरा भयो र !

प्रतिक्रिया
सम्बन्धित