शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

हेइटीका आप्रवासीलाई फिर्ता गरिएपछि अमेरिकी दूतद्वारा राजीनामा

दैनिक नेपाल २०७८ असोज ८ गते ८:२०

हेइटी, ८ असोज । हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि उक्त देशका लागि अमेरिकी विशेष दूतले राजीनामा दिएका छन् ।

वरिष्‍ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुनः हेइटी फर्काउने निर्णयलाई अमानवीय भन्दै एउटा आलोचनात्मक पत्र लेखेका थिए ।

गत सप्ताहन्त अमेरिकाले सीमावर्ती टेक्सस सहरबाट आप्रवासीहरूलाई घर फर्काउने उडानहरू सुरु गरेको थियो ।

आइतवारयता अमेरिकाले मेक्सिकोसँगको सीमानामा रहेको टेक्ससका शिविरहरूबाट १४ सयभन्दा धेरैलाई हेइटी फिर्ता गरिसकेको छ ।

जहाँ एउटा अन्डरपासमुनी ३७ डिग्री सेल्सिअसको धूपमा झण्डै १३ हजार आप्रवासीहरू जम्मा भएर बसेका थिए ।

स्थानिय अधिकारीहरू उनीहरूलाई खानेकुरा र पर्याप्त सरसफाई सुनिश्चित गर्न सङ्घर्षरत थिए ।

एएफफी समाचार संस्थाका एकजना फोटोपत्रकारले यसैसाताको सुरुमा खिचेका तस्बिरहरूले अमेरिकी दासता र अस्वेत वर्णका मानिसहरूका लागि देशको ऐतिहासिक नराम्रो व्यवहारको निर्दयी झल्को देखाएको थियो ।

आफ्नो राजिनामापत्रमा विशेष दूत फुटेले हेइटी असफल राष्ट्र भएको र उसले जबरजस्ती फर्काइएका आप्रवासीलाई खानेकुरा, आवास र पैसाजस्ता सहायता उपलब्ध गराउन नसक्ने बताए ।

ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले भने विशेष दूत फुटेसामु ती सरोकारहरू उठाउने पर्याप्त अवसरहरू रहेको तर पदमा हुँदा उनले एकपटक पनि त्यसो नगरेको बताइन् ।

फुटे जुलाई महिनामा हेइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या भएयता उक्त भूमिकामा थिए । घोडामा बसेर आप्रवासीहरूलाई लखेटेका तस्विरलाई दर्दनाक बताएकी ह्वाइटहाउसकी प्रवक्ताले अब त्यस क्षेत्रका बोर्डर एजेन्टले घोडसवार हुन नपाउने बताइन् ।

पछिल्लो घटनाक्रमले बाइडन प्रशासनमाथि उनको डेमोक्र्याटिक पार्टी भित्रबाटै हेइटीका आप्रवासीहरूलाई घर नफर्काई शरण दिन अनुरोधहरू आएका थिए । बीबीसी

प्रतिक्रिया
सम्बन्धित