शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

५० डिग्री बढी गर्मी हुने दिन दोब्बर बढ्यो

दैनिक नेपाल २०७८ असोज ६ गते ९:५८

लण्डन, ६ भदौ । तापक्रम ५० डिग्री सेल्सियस माथि पुगेर हरेक वर्ष अत्यधिक गर्मी हुने दिनहरू विगत चार दशकमा दोब्बर भएको बीबीसीको एक विश्लेषणले देखाएको छ ।

विश्वमा अत्यधिक गर्मी हुने ठाउँहरू पनि विगतको भन्दा धेरै स्थानमा फैलिँदा मानव स्वास्थ्य र हाम्रो जीवनशैलीमै अभूतपूर्व चुनौती थपिएको बीबीसीले जनाएको छ ।

सन् १९८० यता हरेक दशकमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने दिनहरू निरन्तर बढिरहेको देखिन्छ ।

१९८० देखि २००९ को बीचमा औसतमा वर्षको १४ दिन मात्रै ५० डिग्रीभन्दा बढी तापक्रम पुगेको थियो । तर २०१० देखि २०१९ को बीचमा यस्तो गर्मी हुने दिनहरू बढेर वर्षको २६ दिनसम्म पुगे ।

यो अवधिमा ४५ डिग्री माथि तापक्रम पुग्ने दिनहरू पनि औसतमा वर्षको दुई हप्ता बढेको पाइएको छ ।

‘यसरी तापक्रम बढ्नुमा खनिज इन्धनको प्रयोग शतप्रतिशत जिम्मेवार छ’, युनिभर्सिटी अफ अक्सफोर्डका वातावरण परिवर्तन सम्बन्धी उप निर्देशक फ्रेडरिक ओट्टो बताउँछन् । विश्वभरिकै तापमान बढ्दै जाँदा चरम गर्मी बढ्दै जाने हो।

मानिस र प्रकृतिका लागि निकै घातक हुने तातो हावाले भवन, सडक र ऊर्जा प्रणालीलाई पनि ठूला समस्या निम्त्याउन सक्छ । मध्यपूर्व र खाडीले ५० डिग्रीको तापक्रम हुने सबैभन्दा धेरै क्षेत्र समेटेको छ ।

यो वर्ष इटली र क्यानडामा इतिहासकै सबैभन्दा धेरै तापक्रम पुग्यो । इटलीमा ४८.८ डिग्री र क्यानडामा ४९।६ डिग्री तापक्रम मापन गरिएको थियो ।

वैज्ञानिकहरूले जीवाश्म इन्धनको उत्सर्जन नरोकिए ५० डिग्री माथि तापक्रम विश्वको जताततै पुग्ने चेतावनी दिएका छन् ।

‘हामीले यसमा धेरै छिटो कदम चाल्नुपर्छ । जतिसक्दो छिटो हामीले उत्सर्जन घटाउँछौँ हाम्रोलागि त्यति नै राम्रो हुने हो’, अक्सफोर्ड विश्वविद्यालयको भूगोल र वातावरण सम्बन्धी विषयमा सोधकर्ता डाक्टर सिहान ली भन्छन् ।

‘विना रोक तोक उत्सर्जनले निरन्तरता पाउँदै जाने हो भने अत्यधिक गर्मीका घटनाहरू बढ्ने र दोहोरिइरहने मात्रै नभई यो समस्या समाधानमा समेत चुनौती थपिँदै जानेछ’, उनले थपे ।

प्रतिक्रिया
सम्बन्धित