शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

विदेश बस्ने नेपालीद्वारा सिन्धुलीको शिखर माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

एसपी उप्रेती २०७८ असोज ५ गते १६:०८

-एसपी उप्रेती

काठमाडौँ, ५ असोज । स्वर्णिम युग फाउन्डेशनले सिन्धुलीको कमलामाइ नगरपालिकाको बेल्टारस्थित शिखर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपहार प्रदान गरेको छ ।

सामुदायिक विद्यालयका आर्थिक रुपमा पिछडिएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपहार वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको फाउन्डेशनले आइतबार विद्यालयको प्रांगणमै गएर एक कार्यक्रमका बीच शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा कमलामाइ नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख खत्रीले बालिकालाई ब्याग, त्यसभित्र भएका शैक्षिक सामाग्रीहरु, स्यानिटाइजर कसरी प्रयोग गर्ने भन्दै सिकाएर हस्तान्तरणको सुरुवात गरेका थिए ।

त्यसपछि भने कक्षा ९ र १० का विद्यार्थीहरुले कक्षा नर्सरीदेखि ८ कक्षासम्मका ११६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

किताब जतन गर्ने अवस्थाबाट बञ्चित बालबालिकाहरु संस्थाको शैक्षिक सामाग्री वितरणले केही समयलाई ढुक्क बनाएको त्यहाँका अभिभावकले बताएका छन् ।

त्यस्तै, जीवनलाई सफल र सन्तुष्ट बनाउनका लागि खेम शर्माद्वारा लिखित ‘स्वर्णिम रहस्य’ पुस्तक पनि उपहारस्वरुप प्रदान गरिएको छ ।

पुस्तक प्रमुख अतिथि मेयरलाई स्वर्णिम युगको तर्फबाट प्रदान गरिएको थियो भने मेयर खत्रीले अन्य अतिथि तथा विद्यालयका हेडमास्टरलाई प्रदान गरेका थिए ।

कार्यक्रममा मेयर खत्रीले स्वर्णिम युगलाई आभार व्यक्त गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीको सदुपयोग गर्न आग्रह गरेका थिए । त्यस्तै, समयको पालना नगर्नाले नेपाली पछि परेको बताउँदै मेयर खत्रीले विद्यार्थी तथा शिक्षक अभिभावक सबैमा समयप्रति सचेत हुन पनि अनुरोध गरेका थिए ।

त्यस्तै, कमलामाई नगरपालिका १ का वडाध्यक्ष महेशराज खतिवडाले संस्थाले गरेको सहयोगलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, विद्यालयका प्रधानाध्यपक सम्बर बहादुर बम्जनले संस्थाप्रति अभार ज्ञापन गरे भने विद्यार्थीले आफूहरुले पनि पछि गएर अरुलाई सहयोग गर्ने ज्ञान प्राप्त भएको बताए ।

त्यस्तै, आफू त्यही विद्यालयको उत्पादन भएको बताउँदै मेगाबाइटका फाउन्डर कृष्ण थापाले विद्यालयमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको औँल्याएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सुर्य बहादुर पाख्रिनले स्वर्णिम युगले पनि दुःख गरेर शैक्षिक सामाग्री प्रदान गर्न सफल भएको भन्दै विद्यार्थीहरुलाई पनि त्यसैगरी सामाग्रीको मूल्य राख्न आग्रह गरेका छन् ।

उनले जतन गरेर अध्ययनका लागि शैक्षिक सामाग्रीको प्रयोग गर्न अनुरोध गरे भने शिक्षकहरुलाई पनि मेहनत गरेर अध्यापन गराउन आग्रह गरे ।

निकै विकट स्थानमा रहेको विद्यालयका विद्यार्थीहरु निकै कष्टकर ढंगले अध्ययन गरिरहेका छन् । एम्बुलेन्स समेत जान नसक्ने स्थानमा रहेको गाउँमा जीवन अवश्य पनि कठीन छ ।

यस्तो स्थानमा थोरै भएपनि सहयोग होस् भन्ने भावनाले विदेशमा रहेर पनि नेपालको हित चिताउने सहायोगी मनहरुको अगुवाईले शैक्षिक सामाग्री प्रदान गर्न सम्भव भएको हो ।

गैर आवासीय नेपाली अभियन्ता दिपक शर्माको नेतृत्वमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग स्वरुप उपहार जुटेको हो । त्यस्तै, मेगाबाइट टेक प्रा.लि. सञ्चालन गरिरहेका कृष्ण थापाले जो त्यही विद्यालयका उत्पादन पनि हुन् उनले पनि शैक्षिक सामाग्री उपलब्ध गराएका छन् ।

त्यसैगरी, अस्ट्रेलियाको डार्विनबाट धनु सुनारले पनि विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री प्रदान गरेका छन् । हाल स्कटल्याण्डमा रहेर नेपाल र नेपालीका लागि योगदान गर्दै आएका वौद्धिक व्यक्तित्व नविन के क्षेत्रीले पनि शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

अमेरिकाको भर्जिनियामा बस्ने पुजा दाहाल राउतबाट शैक्षिक सामाग्री उपहार प्राप्त भएको हो । त्यस्तै, अमेरिकामै रहँदै आएका भरत शर्माले पनि सामाग्री दिएका छन् । नेपालमा ब्याग उत्पादन गरिरहेको शिवाकोटी ब्याग्सले पनि विद्यार्थीहरुलाई सामाग्री उपलब्ध गराएको छ ।

त्यस्तै, अस्ट्रेलियाको सिड्नीमा रहेर सेवा दिइरहेको काठमाडौँ डिजिटलले पनि शैक्षिक सामाग्री दिएको छ । हाल अस्ट्रेलियामा रहेर कार्य गरिरहेका प्रेस काउन्सिलका पूर्व बोर्ड सदस्य मनरिसी धितालले सामाग्री प्रदान गरेका छन् ।

त्यस्तै, खेम्स क्लिनिंग सर्भिसका डाइरेक्टर खेम शर्माले सामाग्री सहयोग उपलब्ध गराएका छन् । सिड्नीमा रहँदै आएका सुवन चौलागाईँले सामाग्री प्रदान गरेका छन् । सिड्नीमा मल्टि डायनामिक कम्पनीका निर्देशक मेघ राज पौडेलले सेट सामाग्री सहयोग गरेका छन् । सुश्मा गुरुङले लण्डनबाट शैक्षिक सामाग्री प्रदान गरेकी छन् ।

त्यसैगरी, विज्ञान पौडेल, योगेश पोखरेल, कुशल अधिकारी, लगायतले शैक्षिक सामाग्री सहयोग गरेर बालबालिकाका शैक्षिक भविष्यमा इटा थप्ने कार्य भएको छ ।

प्रतिक्रिया
सम्बन्धित