शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सिरहामा भारतीय प्रेमीसँग मिलेर पतिको हत्या गरेको खुलासा

दैनिक नेपाल २०७८ असोज ५ गते १४:४१

काठमाडौँ, ५ असोज । सिरहामा प्रेमीसँग मिलेर आफ्नै पतिको हत्या गरेको खुलासा भएको छ ।

सिराहा गोलबजार नगरपालिका–४ निपनिया कुटी टोल निवासी ३९ वर्षीय दुखरन महराको शव भदौ १८ गते घाँटी काटेर हत्या गरेको अवस्थामा भारत जयनगरमा भारतीय प्रहरीले भेटेको थियो ।

उनको गोजीमा भएको डायरीमा लेखिएको फोन नम्बरको आधारमा उनी नेपाली भन्ने पहिचान खुलेको थियो ।

उनको भारतमै पोष्टमार्टम गरियो भने नेपाल प्रहरीले अनुसन्धान थालेपछि भारतीय प्रेमीसँग मिलेर श्रीमतीले नै पतिको हत्या गराएको खुलेको हो ।

वैदेशिक रोजगारबाट फर्केका महरा स्थानीय फर्निचरमा काम तथा पसल गरेका गर्थे ।

दुखरनकी पत्नी हरिहरदेवीले नै श्रीमानसँग घरायसी विवाद बढ्न थालेपछि पतीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हरिहरदेवी दुई वर्ष अघि जयनगरस्थित अस्पतालमा उपचार गराउन जाँदा एम्बुलेन्स चालक मुकेश यादव भन्नेसँग चिनजान भइ प्रेम सम्बन्ध रहेको थियो ।

प्रहरीका अनुसार भदौको दोस्रो साता हरिहरदेवीले मुकेशलाई फोन गरेर भनिन्, श्रीमानले धेरै दुःख दियो, उसलाई मार्नुपर्ने भयो ।

पतिको हत्याका लागि १ लाख लाग्ने प्रेमी यादवले बताएपछि करिब ५० हजार आफूले निकाल्न सकिने बताइन् ।

त्यसपछि गोलबजारको छिमेक लघुवित्तबाट पतिसँगै सल्लाह गरेर ६० हजार रुपैयाँ ऋण लिएलगत्तै आफूलाई सन्चो नभएको बताउँदै जयनगर गएर उपचार गरौँ भन्ने प्रस्ताव हरिहरदेवीले गरिन् ।

त्यसपछि भारत पुगेपछि प्रेमी यादवलाई फोन गरेर आफूले आवश्यक रकम श्रीमानको खल्तीमा रहेको बताइन् ।

त्यसपछि यादवले अरु दुई जनालाई बोलाएर दुखरनलाई अलिक पर लगेर हत्या गरेको र उनको गोजीमा रहेको ६० हजार रुपैयाँ मुकेशले लगेको प्रहरीले जनाएको छ ।

मुकेश यादवलाई पनि भारतीय प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाइएको छ । घटनामा संलग्न अन्य दुई जना भारतीय भने फरार रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित