२ कार्तिक २०८३, सोमबार

रुसको संसदीय चुनावमा पुटिनको पार्टीको अग्रता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ४ असोज । राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदिय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ ।

धाँधलीको आरोपका बीच भएको मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो ।

क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो र निर्वाचनका बेला नक्कली र जबरजस्ती मतदान भएका विवरणहरू सार्वजनिक भएका थिए ।

रुसको निर्वाचन आयोगले भने त्यस्ता दाबीहरूलाई अस्विकार गरेको छ । चुनावमा सहभागी हुन नपाएकामा हाल जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेत छन् ।

२५ प्रतिसत मतगणना भएपछिको प्रारम्भिक नतिजामा युनाइटेड रसियाले ४४ प्रतिसतभन्दा बढ्ता मत पाएको देखिन्छ ।

इन्सोमार कम्पनीले सञ्चालन गरेर र रिआ समाचार संस्थाले प्रकाशन गरेको अनुमानित मत सर्वेक्षण एक्जिट पोलले उक्त दलले ४५ प्रतिसतभन्दा केही बढ्ता मत पाउने प्रक्षेपण गरेको छ ।

आइतवार साँझ मतदान सकिएको केही घण्टामै युनाइटेड रसियाले आफ्नो जित घोषणा गरेको छ ।

सरकारी टेलिभिजनमा प्रशारित सामग्रीमा युनाइटेड रसिया पार्टीका एक वरिष्ठ अधिकारीले मस्कोमा समर्थकहरूको भिडलाई बधाई दिंदै उनकै शब्दमा स्पष्ट र निष्पक्ष जीत भएको बताएका थिए ।

मतदाताहरूले डुमा भनिने रूसी संसद्मा ४५० सांसद्हरू निर्वाचित गर्दैछन् । कुल १४ वटा दल सहभागि भएको उक्त चुनावमा कयौँ शहरमा विद्युतिय मतदान सुरु गरिएको थियो ।

रूसको केन्द्रीय निर्वाचन आयोगले केही छिटफुट घटना भए पनि ठूलो अनियमितता नभएको जनाएको छ । प्रारम्भिक नतिजाहरूले उक्त दलले संसदिय बहुमत कायमै राख्ने तर विपक्षीसँग आफ्ना केही आधारक्षेत्र गुमाउने देखाएको छ ।

कोरोनाभाइरस महामारीलाई औपचारिक कारण बताउँदै मतदानलाई तिनदिने बनाइएको थियो । आलोचकहरूले लम्ब्याइएको त्यस्तो समयले पारदर्शीताको कमी देखाएको र दुरूपयोग गर्न खुला छाडेको देखाएको बताएका छन् ।

सन् १९९३ पछि पहिलोपटक अर्गनाइजेसन फर सेक्युरिटी एण्ड कोओपरेसन इन युरोप (ओएससीई)का पर्यवेक्षकहरू चुनावमा सहभागी भएनन् । उनीहरूले त्यसो गर्नुमा रुसी अधिकारीहरूले लगाएका प्रतिबन्धहरूलाई कारण बताएका छन् । बीबीसी