८ कार्तिक २०८३, आइतबार

‘कांग्रेस र एमालेको समीकरण बन्ने संकेत’

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । स्वतन्त्र गठबन्धनका नेता एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले अब नेपाली कांग्रेस र एमालेको समीकरण बन्न सक्ने राजनीतिक परिस्थिति बन्दै गएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ताका क्रममा उनले राजनीतिक द्वन्द्वले मुलुक ठूलो संवैधानिक दुर्घटनातिर जाने देखिएकाले दुई ठूला दल मिलेर जाने देखिएको बताए ।

नेता त्रिपाठीले भने, ‘अहिलेको राजनीतिक घटनाक्रम हेर्दा मुलुकमा २०५५ को पुनरावृत्ति हुने देखिएको छ । त्यतिखेर एमाले र माले विभाजन हुँदा कांग्रेस र मालेको सरकार थियो ।’

‘त्यसपछि कांग्रेस र एमालेको सरकार बनेर चुनावमा जाने परिस्थिति बन्यो । अहिले शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ’, उनले भने, ‘देउवाले सहयोगी दलहरुको पूरा साथ पाइरहनु भएको छैन । वैचारिक रुपमा पनि र तात्कालिक उद्देश्यका लागि पनि । जस्तो एमसीसीकै विषयमा पनि गठबन्धन दलहरूबीच दरार आएको छ ।’

‘यस्तै हुने हो भने एमाले र कांग्रेसको सरकार बनाएर चुनावमा जाने स्थिति बन्न सक्छ’, त्रिपाठीले भने, ‘यो खिचडीका पछाडि अल्कपनीय परिघटना हुन सक्छ ।’

त्रिपाठीले प्रधानमन्त्री देउवाको प्रचण्ड र माधव नेपालसँगको सम्बन्ध लामो समय नरहने संकेत गरे ।

उनले भने, ‘अहिले हेर्नुस्, गठबन्धन दलहरुको मनस्थिति गएगुज्रेको छ । मन्त्रीको नाम दियो, पार्टी फुट्छ । सांसदहरूलाई मन्त्री दिने भनेर तानेका छन् ।’

‘कांग्रेस महाधिवेशनसम्म मात्र चुनावमा नजान खोजेको हो । ऊ लामो समय सरकार चलाउन चाहँदैन’, त्रिपाठीले भने, ‘लामो समय सरकार चलाए अलोकप्रिय होइन्छ भन्ने उसलाई थाहा छ । हामीले भौगोलिक पुनसंरचना गर्यौं, राज्यको पुनःसंरचना गर्न सकेनौं ।’

उनले भने, ‘त्यसले जो सरकारमा भए पनि अलोकप्रिय हुन्छ । देउवा चुनावमा जान चाहँदा प्रचण्ड, माधव नेपालहरु त्यसमा सहमत हुँदैनन् । त्यसैले अहिलेको समीकरण बदलिन सक्छ ।’

नेता त्रिपाठीले देशको राजनीति यसरी नै लिकबाहिर जाने हो भने ठूलो संवैधानिक दुर्घटना हुन सक्न सक्ने बताए ।

उनले भने, ‘अहिले राजनीतिक दलहरूबीच तिक्तता र विभाजन अनि एकले अर्कोलाई स्वीकार नगर्ने असंहिष्णु र प्रतिशोधको राजनीतिले संविधानमा असर गर्छ ।’

‘चुनावपछि शुरु भएको यस्तो तिक्तताले पार्टीहरू विभाजन भए । संसद् चल्न नसक्ने स्थिति बन्यो । संविधान निर्माता पार्टीहरू नै संविधानको व्यवस्थाभन्दा पृथक दृष्टिकोण राख्छन्’, उनले भनेका छन् ।

‘माओवादी प्रत्यक्ष राष्ट्रपति भन्छ, एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्छ । अनुहार फोहोर छ, ऐना पुछेर हुँदैन’, त्रिपाठीले भने, ‘अब मूल प्रणालीमै प्रश्न आयो । मैले धेरै पहिले भने नेकपा विभाजन भयो भने संविधानमा समस्या आउन सक्छ भनेको थिएँ । देश त्यतैतिर गइरहेको छ ।’

उनले एमसीसीमा दलहरूले दोहोरो मापदण्ड अपनाएको बताए । ‘सत्तामा हुँदा सबैले एमसीसीलाई अघि बढाएका हुन । यो विकास अनुदान हो’, त्रिपाठीले भने, ‘हामीलाई थाहा छ, तत्कालीन एमालेले गरेको गल्तीका कारण अरुण तेस्रोबाट वञ्चित भयौं ।’

‘यो अनमोदनको विषय थियो कि थिएन भन्दा पनि तत्कालीन अर्थमन्त्रीको मूर्खतापूर्ण कामका कारण संसद्मा आयो’, उनले भने, ‘अहिले नेताहरूको विश्वसनीयतामा प्रश्न उठेको छ । एमसीसी अनुमोदन नगर्दा अरुलाई होइन, नेपाललाई घाटा हुन्छ ।’

उनले भने, ‘सम्झौता गर्नुभन्दा अगाडि १० पटकमा सोच्नुपथ्र्यो । सम्झौता गरेपछि अनुमोदन गर्नुको विकल्प छैन ।’

नेता त्रिपाठीले भारतसँगको सम्बन्धमा त्यति धेरै उतारचढाव पनि नआएको र धेरै सुदृढ पनि नभएको विश्लेषण गरेका छन् ।

चीनसँग सम्बन्धलाई अनावश्यक उछालिएको उनले बताए । ‘नेपालका दलहरूको दुःखद पक्ष के हो भने सीमा विवाद र अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक विषयवस्तु बनाउँछन्’, त्रिपाठीले भनेका छन् ।

‘अरु देशमा दलहरुले अन्तर्राष्ट्रिय सम्बन्धमा एउटै धारणा राख्छन् । नेपालमा त्यस्ता धारणा पहिले पनि भएन, अहिले पनि भएको छैन’, उनले भने, ‘दलहरूले मौसमी नारा चलाउनु विडम्बना हो । हरेक मौसमले सदैव उत्तिकै साथ दिन सक्दैन ।’