शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

युइएफए च्याम्पियन्स लिगमा चेल्सीसँग पिटर्सवर्ग पराजित

दैनिक नेपाल २०७८ भदौ ३० गते ६:४६

लण्डन, ३० भदौ । बेल्जियन फरवार्ड रोमेलु लुकाकुको गोलमा साविकको विजेता इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गलाई पराजित गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले जेनिटमाथि १–० को झिनो जित निकालेको हो । उनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । घरेलु मैदानमा चेल्सीले खेलको सुरुवात देखि नै जेनिटलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

३८औं मिनेटमा क्लाउडिनोले अवसर पाएपनि चुकाउँदा जेनिट अग्रता लिनबाट चुक्यो । पहिलो हाफमा बल पोसेसन राखेपनि चेल्सीले जेनिटको पोस्टमा खासै आक्रमण बन्न सकेन । दोस्रो हाफको शुरुमै चेल्सी अग्रता लिनबाट चुक्यो ।

४७औं मिनेटमा रोमेलु लुकाकुको पासमा हाकिमी जियाचको प्रहारलाई गोलरक्षक क्रिस्टसियुकले विफल पारे । ४९औं मिनेटमा एन्टेनियो रुडिगरले बारीओसको प्रयासलाई विफल पारिदिए । ५६औं मिनेटमा लुकाकुको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६८औं मिनेटमा एजमोउनको प्रयासलाई एन्ड्रिएस क्रिस्टेन्सेनले विफल पारे ।

लगत्तै काउन्टर अट्याकमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले कप्तान सिसर एज्पिलिक्वेटाको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा मासन माउन्टको पासमा मार्कोस अलन्सको प्रहार बाहिरिदा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै अर्टिम ज्युवाले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा जेनिट बराबरीबाट चुक्यो ।

यही समूह ‘एच’ को अर्को खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मोमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको छ । युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरे । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

यो नजितापछि समूह ‘एच’ मा युभेन्ट्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । अंकविहीन जेनिट र माल्मो तेस्रो र चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित