बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

यस्तो हो देउवाको गृहजिल्लाको विवाद, फस्दै गए मल्ल

दैनिक नेपाल २०७८ भदौ २८ गते १२:१७

काठमाडौं, २८ भदौ । डडेल्धुरा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशनहरू सम्पन्न भएका छन् ।

वडा अधिवेशनहरू सम्पन्न भएपछि सभापति शेरबहादुर देउवालाई जोडर नानाथरीका आक्षेप लगाउने कार्यहरू भइरहेका छन् ।

डडेल्धुराका ४१ वटा वडामा वडा अधिवेशन सम्पन्न भएका छन् । ९ वटा वडा बाहेक सबै वडामा सर्वसम्मत रुपमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् । अब २ वटा वडा अधिवेशन गर्न बाँकी छ । डडेल्धुरा जिल्लामा ५२ वटा वडाहरू छन् ।

निर्वाचन समितिले वडा अधिवेशनहरूमा ९० देखि ९५ प्रतिशतसम्म क्रियाशीय सदस्यतहरूको सहभागितामा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ ।

डडेल्धुराका जिल्ला सभापति कर्णबहादुर मल्लले वडा अधिवेशनमा आफूहरू सहभागी नभएको बताएका छन् । उनले क्रियाशील सदस्यता विवाद भएका कारण केन्द्रीय कार्यालय सानेपा र क्रियाशील सदस्यता वितरण छानविन समितिमा उजुरी दिएको बताएका छन् ।

जिल्ला सभापति मल्लले क्रियाशील सदस्यताको विवादमा सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन् ।

तर, देउवाले डडेल्धुराको विवादमा कुनै पनि हस्तक्षेप नगरेको क्रियाशील सदस्यता विवाद समाधान छानविन समितिका सदस्य एवम् केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए ।

‘डडेल्धुराको क्रियाशील सदस्यता वितरणको विवादमा सभापति शेरबहादुर देउवाले हामीलाई कुनै पनि दवाव दिनुभएको छैन । फोन गरेर डडेल्धुराको विवादमा हस्तक्षेप गर्नुभएको छैन’, चौधरीले भने, ‘समितिबाट हामीले सर्वसम्मत निर्णय गरेर डडेल्धुराको क्रियाशील सदस्यताको विवाद समाधान गरेर पठाएका हौँ ।’

के हो विवाद ?

डडेल्धुरा जिल्लामा १३औँ महाधिवेशनमा २८ सय ६८ जना क्रियाशील सदस्य थिए । कांग्रेसले जुन जिल्लामा जति क्रियाशील सदस्य छन् त्यसमा दोब्बदर (शत् प्रतिशत) हुने गरेर क्रियाशील सदस्यता वितरण गर्ने मापदण्ड बनाएको थियो । सोही मापदण्ड अनुसार सबै जिल्लामा क्रियाशील सदस्यता वितरण गरिएको चौधरीले बताएका छन् ।

‘डडेल्धुरामा १३औँ महाधिवेधनको तथ्याङ्क हेर्ने हो भने २८ सय ६८ जना क्रियाशील सदस्य छन् । कांग्रेसले शत् प्रतिशत क्रियाशील सदस्यता दिने मापदण्ड बनायो’, चौधरीले भने, ‘डडेल्धुरामा पनि क्रियाशील सदस्यताका लागि फारमहरू दोब्बर गयो ।’

पार्टी नीति र मापदण्डअनुसार डडेल्धुरा जिल्लामा २५ सयको हाराहारीमा क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण भएको थियो ।

चौधरीले भने, ‘नयाँ क्रियाशील सदस्यहरूलाई त्यही संख्यामा सदस्यता दिने भन्ने पार्टीको नीति र मापदण्डअनुसार २५ सयको हाराहारीमा सहमतिमा क्रियाशील सदस्यता दिने सहमति भयो । केन्द्रबाट फराम पठाइएको हो ।’

केन्द्रबाट पठाइएको २८ सयमध्ये करीव ३०८ सय फारम बचेको थियो । बचेको फारमलाई डडेल्धुरा कांग्रेसको जिल्ला कार्यसमितिले निर्णय गरेर वितरण नगर्ने निर्णय गरेको थियो ।

सभापति मल्लले वितरण नगर्ने भनेर राखिएका ३०८ वटा फारमलाई जिल्ला कार्यसमितिबाट निर्णय नै नगराइ आफू कमजोर भएका वडाहरूमा सुट्याकसुटुक वितरण गरेको आरोप छ ।

जिल्ला कार्यसमितिको निर्णय बिना सहमति बेगर सभापति मल्लले आफू कमजोर भएका वडाहरूमा ३०८ वटा क्रियाशील सदस्यताको फारम वितरण गरेपछि त्यहिँबाट विवाद उत्पन्न भएको थियो ।

सभापति मल्लले एकलौटी रुपमा वितरण गरिएको ३०८ वटा क्रियाशील सदस्यताको फारम भरेर कांग्रेसको क्रियाशील सदस्यता भर्ने वेबसाइटमा सुटुक्क भरेका थिए । त्यसपछि सभापति मल्लको सो हर्कतविरुद्ध डडेल्धुरा कांग्रेसका नेताहरूले केन्द्रमा लिखित उजुरी दिएका थिए । उजुरीपछि क्रियाशील सदस्यता छानविन समितिले सभापति मल्लद्वारा एकलौटी रुपमा मनोमानी तरिकाले वेबसाइटमै राखिएका ३०८ जना क्रियाशील सदस्यता खारेज गरिदिएको थियो ।

सभापति मल्लले आफूले पठाएका ४६० जना क्रियाशील सदस्यता काटेर ३०४ जनालाई केन्द्रबाट थपेर पठाएको दाबी गरेका छन् ।

सर्वसम्मति निर्णय गर्ने छानविन समितिमा सभापति देउवाका मात्रै मान्छे छैनन् । समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूका पनि मान्छे छन् । डडेल्धुरा कांग्रेसभित्रको विवादका विषयमा सबै नेताहरूलाई राम्रोसँग जानकारी छ ।

तर, १४औँ महाधिवेशनमा कुनै पनि एजेण्डा नभएपछि महाधिवेशनलाई नै असर पर्ने गरेर गतिविधि भइरहेको चर्चा हुन थालेको छ ।

३०८ वटा क्रियाशीय सदस्यता खारेज भएपछि आत्तिएका सभापति मल्लले डडेल्धुरामा बखेडा झिकेर १४औँ महाधिवेशनलाई समेत बिथोल्ने हर्कत गरेको आरोप लागेको छ ।

डडेल्धुरामा माओवादी केन्द्र छाडेर कांग्रेसमा प्रवेश गरेका जनकराज कलौनीलाई उप–सभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिले नै १ हजार क्रियाशील सदस्यता दिने निर्णय गरेको थियो । कलौनीलाई २६५ जना क्रियाशील सदस्यता दिइएको छ । उप–सभापति निधिलाई पनि डडेल्धुरा कांग्रेसको भित्री कुरा राम्रोसँग जानकारी छ ।

डडेल्धुरा जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिन, स्वतन्त्र उम्मेदवार बन्ने, समर्थक र प्रस्तावक बन्ने २०÷२५ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छैन । उनीहरूको क्रियाशील सदस्यता छानविन समितिले खारेज गरिदिएको छ ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको वडा नं. ५ र नवदुर्गा गाउँपालिकाको वडा नं. ३ गरि दुई वटा वडामा मात्रै विवाद छ । त्यो विवाद पनि क्रियाशील सदस्यता छानविन समिति टुंग्याउने चरणमा छ ।

समितिका सदस्य चौधरीले छानविन समितिले सर्वसम्मत पास गरेको क्रियाशील सदस्यताको विवाद किन उठेको हो आफूले बुझ्न नसकेको बताए ।

उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले मेरो जिल्ला हेरिदेउ भनेर एक पटक पनि फोन गर्नुभएको छैन । मिलिसकेका कुरालाई अनावश्यक रुपमा उचाल्दा महाधिवेशनको मुखमा महाधिवेशनको वातावरण विथोलिनेमा चिन्ता बढेको छ ।’

डडेल्धुरामा निर्वाचन गराउन गएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमलाई जिल्ला सभापति मल्लले वडा अधिवेशन रोक्न दवाव दिएका थिए । जवाफमा सभापति मल्लसँग निर्वाचन अधिकृत बमले वडा अधिवेशन रोक्नका लागि लिखित पत्र माग गरेका थिए ।

तर, सभापति मल्लले वडा अधिवेशन रोक्न पत्र दिएनन् । वडा अधिवेशन रोक्ने पत्र नपाएपछि निर्वाचन अधिकृतले वडा अधिवेशन गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित