बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आइडा आँधीले अमेरिकाका चार राज्यमा ४० भन्दा धेरैको निधन

दैनिक नेपाल २०७८ भदौ १८ गते ७:५९

न्युयोर्क, १८ भदौ । देशको पूर्वोत्तर भाग अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति ऐतिहासिक लगानी आवश्यक पर्ने बताएका छन् ।

उनले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको जीवन वा मरणको सवाल भएको बताएका छन् ।

न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा देखिएको छ । केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन् ।

समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो ।

न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा कम्तीमा २३ जनाको निधन भएको बताएका छन्। त्यसमध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए ।

न्यूयोर्क सहरमा कम्तीमा १४ जनाको ज्यान गएको छ । त्यसमा एकजना दुई वर्षका बालक पनि छन्। मारिनेमा ११ जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेका थिए ।

पेन्सलभेनियाको फिलडेल्फिया नजिकै तीनजना र कनेटिकटमा एकजनाको निधन भएको छ । समुद्री आँधीको आवृत्ति र त्यसमा जलवायु परिवर्तनको असर कति पर्छ भन्नेबारे अझै स्पष्ट छैन ।

तर के चाहिँ निश्चित छ भने समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताउँछ र तुफान, चक्रवात र समुद्री हुरी अर्थात् टाइफून उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्छ ।

त्यस्तो अवस्थामा त्यस्ता प्रवृत्तिहरू धेरै विनाशकारी हुने र चरम वर्षा गराउने सम्भावना रहन्छ । औद्योगिक युग सुरु भएयता विश्वमा ‍औसत १।२ डिग्री सेल्सिअस तापक्रम वृद्धि भइसकेको छ ।

उत्सर्जन कटौतीमा विश्वभरिका सरकारहरूले काम नगरे यो क्रम निरन्तर रहने देखिन्छ । न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले मौसम विज्ञहरूको आलोचना गर्दै उनीहरूको पूर्वानुमान केही मिनेट भित्रै नराम्ररी गलत साबित भएको बताए ।

उनले मौसमविद्हरूले एक दिनमा ३ देखि ६ इन्चसम्म पानी पर्छ भनेकोमा सेन्ट्रल पार्कमा एक घण्टामै ३।१५ इन्च पानी परेको बताए । न्यूयोर्ककी गभर्नरले पनि त्यहाँ नायग्रा फल्स झरनानै खसेको जसरी पानी परेको बताएकी छन् ।

त्यहाँका बासिन्दाहरूले आफ्नो क्षतिको विवरण लिइरहेका छन् । न्यूयोर्कका सडकहरूमा पानी भरिएको छ भने धेरैतिर रेलसेवा अवरूद्ध छ । कैयौँ उडानहरू रद्द भएका छन् । बीबीसी

प्रतिक्रिया
सम्बन्धित