शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

२० वर्षे सैन्य कारबाही अन्त्यपछि अमेरिकी राष्ट्रपति बाइडनले के भने?

दैनिक नेपाल २०७८ भदौ १६ गते ७:४१

काबुल, १६ भदौ । तालिबान पुनः सत्तामा फर्कने कारक बनेको अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमको अमेरिकी राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन् ।

अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अझै त्यहाँ बसिरहनुको अर्थ थिएन भनेका छन् ।

उनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरेकोमा सेनाको प्रशंसा गरे ।

इस्लामिक विद्रोही समूह तालिबानले चाहिँ अमेरिकी बहिर्गमनलाई जितका रूपमा अर्थ्याउँदै उत्सव मनाएको छ ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलापछि उसको नेतृत्वमा अफगानिस्तानमा अन्तर्राष्ट्रिय सेना प्रवेश गरेर तालिबान सत्तालाई अन्त्य गरिदिएको थियो ।

अमेरिकामा भएको आतङ्कवादी हमलाको जिम्मा लिएको अलकायदाको आधार उक्त देश रहेको भन्दै त्यसबेला अमेरिकाले हमला गरेको थियो ।

अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ ।

उक्त निर्णयका कारण अमेरिकी फौजले वर्षौँ तालिम दिएको र ठूलो धनराशि खर्चेको अफगान सुरक्षा फौजको अस्वाभाविक रूपमा पतन भएको थियो ।

तालिबानले पूरै देशलाई ११ दिनभित्र नियन्त्रणमा लिन सफल भएको थियो । गत अगस्ट १५ मा राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानको शक्ति उसको हातमा पुगेको हो ।

राष्ट्रपति बाइडनले अमेरिकीहरू, अन्य साझेदार देशका नागरिकहरू र अमेरिकीका लागि काम गरेका तर अफगानिस्तान छाड्न चाहने अफगानहरूको उद्धारका लागि विमानस्थलमा नियन्त्रण गर्नका निम्ति ६ हजार सैनिकहरू त्यहाँ पठाएका थिए ।

उद्धारका लागि हुने उडानहरूबाट विदेश जान पाउने आशामा हजारौँ मानिसहरू काबुल विमानस्थल पुगेका थिए । बीबीसी

प्रतिक्रिया
सम्बन्धित