शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एन्टोइन ग्रिजमन एट्लेटिको म्याड्रिडमा फर्किए

दैनिक नेपाल २०७८ भदौ १६ गते ७:२७

लण्डन, १६ भदौ । दुई वर्ष क्याटलान क्लब बार्सिलोना बसाईपछि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन् ।

ग्रिजमन लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् । ग्रिजमन २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । तर, दुई वर्षपछि नै ग्रिजमन एट्लेटिको फर्किएका हुन् ।

बार्सिलोनाका सदावहार फरवार्ड लियोनेल मेस्सीले अगस्टको सुरुमै पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थानले ग्रिजमनलाई सेन्टर फरवार्डको जिम्मेवारी मिल्ने संकेत मिलेपनि यसै समरमा आबद्ध भएका डर्च फरवार्ड मेम्फिस डिपाएले उच्च प्रदर्शन गरेपछि ग्रिजमनले क्लब छाड्ने निर्णय गरेको हुन सक्छ ।

मेस्सीले बार्सिलोना छाडेपछि ग्रिजमन नै क्लबमा सर्वाधिक कमाउने खेलाडी रहेका थिए । क्लब आर्थिक रुपमा कमजोर भएपनि ग्रिजमनले आफ्नो तलब घटाउन मानिरहेका थिएनन् । त्यसैले पनि बार्सिलोनाले उनलाई अन्यत्र पठाउने तयारी गरिरहेको थियो ।

बार्सिलोनाले अन्तिम दिन डिफेन्डर एमर्सन रोयल र मिडफिल्डर इलाइस मोरिबालाई पनि बेचेको छ । एमर्सन २५ मिलियन युरोमा टोटेनहम जाँदा मोरिबालाई २२ मिलियनमा आरबी लाइप्जिगमा बेचेको हो । यसबाहेक क्लबले कप्तानद्वय सर्जियो बुस्केट्स र जोर्डी अल्बासँग तलब घटाउन सहमति गरेको छ । यो सहमतिसँगै अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोलाई क्लबले औपचारिक रुपमा दर्ता गरेको छ ।

३० वर्षीय ग्रिजमनलाई बार्सिलोनाका समर्थकहरु र प्रशिक्षक रोनाल्ड कोम्यानले पनि खासै रुचाएको पाइदैन । प्रशिक्षक कोम्यानले ग्रिजमनको बचाउँ गर्दै ग्रिजमनजस्तो खेलाडीको कहिल्यै आलोचना हुन नसक्ने बताएका छन् । एट्लेटिकोले यो महिनाको सुरुवातमा ग्रिजमनलाई फर्काउने योजना रहेको बताएको थियो ।

प्रतिक्रिया
सम्बन्धित