शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अफगानिस्तानमा २० वर्षे अमेरिकी कारबाही अन्त्य, पूर्ण रूपमा फौज फिर्ता

दैनिक नेपाल २०७८ भदौ १५ गते ७:३२

न्युयोर्क, १५ भदौ । संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ ।

उक्त फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए ।

अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ । योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ । जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका थिए ।’

उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताए ।

अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए ।

बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाद्‌दाता लिज डुसेटका अनुसार बाहिरिन लागेका अमेरिकी फौज र तालिबानका एलिट सुरक्षा गार्डहरू एउटा अप्ठेरो क्षणमा आमने सामने भएका थिए ।

अन्त्यहीन युद्धपश्चात् अमेरिकी फौज फर्कन लागेपछि ती तालिबान दस्ता विमानस्थललाई आफ्नो नियन्त्रणमा लिन आइरहेका थिए । यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताएका थिए । बीबीसी

प्रतिक्रिया
सम्बन्धित