मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी एक महिनापछि सोनी च्यानलमा प्रदर्शन भइरहेको ’सुपर डान्सर’ मा देखिएकी छन् । शिल्पाका श्रीमान राज कुन्द्रा अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेपछि उनले कार्यक्रमबाट विश्राम लिएकी थिइन् ।
शनिबार र आइतबार गरी सातामा दुई दिन प्रदर्शन हुने सुपर डान्सरमा उनी गीता कपूर र अनुराग बासुसँगै जजका रूपमा देखिँदै आएकी थिइन् । राज पक्राउ परेपछि कार्यक्रममा शिल्पा आइनन् । उनको कमी विभिन्न अतिथि कलाकार र सेलेब्रेटीहरूले पूरा गरे ।
कार्यक्रममा पुनः फर्किएसँगै शिल्पाले महिलाहरूले गर्नुपर्ने संघर्ष र परिस्थितिसँग लड्ने शक्तिका बारेमा बोलेकी थिइन् । महिलाहरूले अझै पनि आफ्नो अधिकार, पहिचान र सन्तानका लागि लडिरहनुपर्ने प्रतिक्रिया शिल्पाले दिएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
सुपर डान्सरमा उनले रानी लक्ष्मी बाइबाट प्रेरित प्रस्तुति हेरेपछि यस्तो टिप्पणी दिएकी हुन् । ‘जब जब म झाँसीकी रानीका बारेमा सुन्छु, मलाई आज पनि समाजको अनुहार याद आउँछ। आज पनि महिलाले आफ्नो हकका लागि, आफ्नो श्रीमानपछि आफ्नो अस्तित्वका लागि लडिरहनुपर्छ’, उनका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘झाँसीकी रानी साँच्चै निडर थिइन्। उनलाई सम्झेर मलाई गर्व लाग्छ । यस्ता महिलाहरू प्रति मेरो नमन ।’
श्रीमान पक्राउ परेपछि सार्वजनिक कार्यक्रममा पहिलो पटक देखिएकी शिल्पा अब सुपर डान्सरमा नियमित देखिने बताइएको छ ।















प्रतिक्रिया