शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अमेरिका र यूकेद्वारा काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिमको चेतावनी

दैनिक नेपाल २०७८ भदौ १० गते १०:०७

काबुल, १० भदौ । अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन् ।

विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ । दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन् ।

काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन् ।

१० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२,००० भन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ र राष्ट्रहरू अगस्ट ३१ भित्र मानिसहरूको उद्धार सम्पन्न गरिसक्न उद्धत छन् ।

तालिबानले त्यो समयसीमा लम्ब्याउने विषयको विरोध गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनका अनुसार अगस्ट ३१ पछि पनि अफगान नागरिक र विदेशीहरूलाई देश छोड्न दिने उसले वाचा गरेको छ ।

आफूलाई इस्लामिक स्टेटका रूपमा चिनाउँदै आएका अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडनले चर्चा गरेको २४ घण्टापछि यूके र अमेरिकाको यस्तो सुझाव आएको हो ।

आक्रमणको जोखिम रहेकाले जतिसक्दो चाँडो हवाई उद्धार हुनु राम्रो रहेको बाइडनले बताएका थिए । बीबीसी

प्रतिक्रिया
सम्बन्धित