शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

स्पेनिस ला लिगाको दोस्रो राउण्डमा बार्सिलोना र बिल्वाओ बराबरीमा रोकिए

दैनिक नेपाल २०७८ भदौ ६ गते ७:०९

लण्डन, ६ भदौ । स्पेनिस ला लिगाको दोस्रो राउन्डको खेलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनाले घरेलु टोली एथलेटिको बिल्वाओसँग १–१ गोलको बराबरी खेल्दै दोस्रो खेलमै अंक बाड्न बाध्य बनेको हो ।

बार्सिलोनाले एक गोलले पछि परेको स्थितिमा खेललाई बराबरीमा रोक्न सफल भएको हो । घरेलु टोली बिल्वाओका इनिगो मार्टिनेजले गोल गर्दा बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

बिल्वाओमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुमै इनिगो मार्टिनेजले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । इकर मुनिएनको पासमा मार्टिनेजले ५०औं मिनेटमा गोल गरेका थिए ।

एक गोलले पछि परेपछि बार्सिलोनाले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवाव बढाउँदै गर्दा ७५औं मिनेटमा गोल गर्न सफल भएको थियो । यसै समरमा बार्सिलोना आएका मेम्फिस डिपाएले सर्जी रोबर्टोको पासमा ला लिगामा पहिलो गोल गर्न सफल भए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । एरिक गार्सियाले निको विलियम्समाथि फउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो ।

बराबरीपछि बार्सिलोनाको २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । बिल्वाओले २ खेलबाटै २ अंक जोडेको छ । बार्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडमाथि ४–२ को जित निकाल्दा बिल्वाओले इल्चेसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित