शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

फ्रेन्च लिग वानमा पीएसजीको लगातार तेस्रो जित दर्ता

दैनिक नेपाल २०७८ भदौ ५ गते ७:५६

लण्डन, ५ भदौ । नेयमार र लियोनेल मेस्सीविनै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित दर्ता गरेको छ । पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४–२ ले हराउँदै लिग वानमा लगातार तेस्रो सफलता हात पारेको हो ।

यसअघि पीएसजीले ट्रोएसलाई २–१ ले तथा स्ट्रासवर्गलाई ४–२ ले हराएको थियो । ब्रेस्टमा शुक्रबार राति भएको खेलमा पीएसजीको जितमा एन्डर हेरेरा, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र एन्जल डि मारियाले गोल गरे । घरेलु टोलीका फ्रान्क होनोरट र सिटभ मोउनीले गोल फर्काए ।

उनले केलियन एमबाप्पेको क्रसलाई नियन्त्रणमा लिदै गरेको पेनाल्टी बक्सबाहिरबाट गरेको हाफ भली प्रहार गोलरक्षक मार्को विजोटलाई लाग्दै गोलमा परिणत भएको थियो ।

३६औं मिनेटमा एमबाप्पेले हेडमार्फत दर्शनीय गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । थिलो केरहरको पासमा जर्जिनो वाइनाल्डमले गरेको प्रहार विपक्षी डिफेन्डरलाई लाग्दै एमबाप्पेसमक्ष आइपुगेपछि उनले हेडमार्फत सुन्दर गोल गरेका थिए ।

४२औं मिनेटमा फ्रान्क होनोराटले रोमेन फाइभ्रेको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ७३औं मिनेटमा इड्रिसाले गोल गरेपछि पीएसजी सहज जिततर्फ अघि बढ्यो । उनले एन्डर हेरेराको पासमा पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारलाई गोलरक्षकले बचाउने कुनै मौका नै पाएन ।

८५औं मिनेटमा रोमन फाइभ्रेकै पासमा स्टिभ मोउनीले गोल गरेपछि खेललाई ३–२ को अवस्थामा ल्याउदै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिए । तर इन्ज्युरी समयमा अचरफ हाकिमीको पासमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीको जित पक्का गरे ।

यस खेलमा प्रशिक्षक मौरिसियो पोचेटिनोले नेयमार र मेस्सीलाई टोलीमै समेटेका थिएनन् । दुवै खेलाडी ढिला गरी प्रशिक्षणमा सामेल भएका थिए । सम्भवत मेस्सीले अर्को खेलबाट पीएसजीमा डेब्यु गर्ने सम्भावना छ ।

जितपछि पीएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ब्रेस्ट ३ खेलबाट २ अंक जोडेर १२औं स्थानमा रहेको छ । खेलमा पीएसजीले ७४ प्रतिशत बल पोसेसन राख्दै घरेलु टोलीलाई निरन्तर दवावमा राखेको थियो । पीएसजीले ब्रेस्टविरुद्ध १६ प्रहार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित