शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

बर्यान म्युनिख जर्मन सुपर कपको च्याम्पियन

दैनिक नेपाल २०७८ भदौ २ गते ७:४२

लण्डन, २ भदौ । बायर्न म्युनिख जर्मन सुपर कपको च्याम्पियन बनेको छ । चिर परिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई उसकै मैदानमा ३–१ ले हराउँदै बायर्न लगातार दोस्रो सिजन सुपर कप च्याम्पियन बन्न सफल भएको हो ।

सिग्नल इडुन पार्कमा मंगलबार राति भएको खेलमा बायर्नलाई च्याम्पियन बनाउन पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले खुई तथा थोमस मुलरले एक गोल गरे । घरेलु टोलीका लागि मार्को रिउसले एक गोल फर्काए ।

सिग्नल इडुना पार्कमा प्रतिस्पर्धात्मक बनेको खेलको ४१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले सर्ज गिनाब्रीको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । फेलिक्स पास्लाकको गल्तीमा सर्ज गिनाब्रीले दिएको लो क्रसलाई लेवान्डोस्कीको फ्लिक प्रहारलाई गोलरक्षक ग्रेगर कोवेलले फिंगर टच दिएपनि नजिकै रहेका मुलरले खाली पोस्टमा वान टचमा गोल गर्न सफल भएका थिए ।

६४औं मिनेटमा कप्तान मार्को रिउसले गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्काउने संकेत दिए । जुडे बेलिङमको पासमा रिउसले उत्कृष्ट फिनिस गर्न सफल भएका थिए । तर त्यसको १० मिनेटपछि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई जित नजिक पुर्‍याए ।

कोरिन्टन टोलिसोको पासमा लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक कोवेलले रोक्ने कुनै मौका नै पाएन । इन्ज्युरी समयमा एर्लिङ ब्राउट हालान्डले अवसर चुकाउदा डर्टमुन्ड खेलमा फर्कन नसक्दा बायर्न ३–१ को सहज जितसहित च्याम्पियन बन्न सफल भयो ।

बायर्नको यो सिजनको पहिलो उपाधि हो । प्रि–सिजन र बुन्डेसलिगाको पहिलो खेलमा जित निकाल्न नसकेको बायर्नले सुपर कपमा भने जित निकाल्न सफल भएको हो । यस्तै प्रशिक्षक जुलियन नागेल्समानले बायर्नमा पहिलो उपाधि जित्न सफल भए । उनी गत सिजनको अन्त्यसँगै बायर्नको मुख्य प्रशिक्षक बनेका थिए ।

बायर्नले गत सिजन डर्टमुन्डमाथि ३–२ को जित निकाल्दै उपाधि जितेको थियो । जर्मन सुपर कपमा बुन्डेस लिगा च्याम्पियन र डिएफबी पोकल विजेताबीच प्रतिस्पर्धा हुने प्रावधान छ । बायर्न बुन्डेसलिगा तथा डर्टमुन्ड डिएफवी पोकल च्याम्पियन टोली हो ।

डिएफवी सुपर कप र डिएफएल सुपर कपको नामले २२औं सिजन सकिदा बायर्न ९ पटक च्याम्पियन बन्न सफल भएको छ । डर्टमुन्डले ६ पटक उपाधि जितेको छ । वेडर ब्रेमेनले ३ पटक उपाधि जित्दा एफसी काइसरस्लाउटन, भिएफवी स्टुर्टगार्ट र भिएफएल वल्फ्सवर्ग समान एक पटक च्याम्पियन बनेको छ ।

आइनट्राख्ट फ्रान्कफुर्ट दुई पटक तथा ह्यामवर्गर, ह्यानोभर ९६, बायर लिभरकुसन र बोरुसिया मोन्चेनग्लाडवाकले एक पटक फाइनल यात्रा तय गरेपनि उपाधि जित्न सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित