नयाँदिल्ली, १ भदौ । अन्तिम दिन उत्कृष्ट प्रदर्शनका साथ भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १ सय ५१ रनको सानदार जित निकालेको छ ।
फराकिलो जितसँगै पाँच टेस्ट खेलमा भ्रमण टोली भारतले १(० को अग्रता लिएको छ । जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा ५१।५ ओभरमा १ सय २० रनमा अल आउट भएपछि फराकिलो हार बेहोरेको हो ।
इंग्ल्यान्डका कप्तान जो रुटले ६० बलमा ५ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए । जस बटलरले ९६ बलमा ३ चौका सहित २५ र मोईन अलीले १३ रन जोडे । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो इनिङमा २७ रनले अग्रता लिएको इंग्ल्यान्ड चौथो दिन सम्म बलियो अवस्थामा थियो । तर पाँचौं दिन ब्याटिङ र बलिङ दुबै नचल्दा पराजित हुन पुगेको थियो ।
इंग्ल्यान्डका दुबै ओपनर रोरी बन्र्स र डोम सिब्ले खाता नखोली आउट भएका थिए । पहिलो ओभरमै जस्प्रित बुमराहले बन्र्सलाई मोहम्मद शिराजबाट शून्यमा क्याच गराए । मोहम्मद शामीको अर्को ओभरको चौथो बलमा सिब्ले पनि पन्तबाट शून्यमा आउट भए ।
ईशान्तले हसिब हमिदलाई ९ रनमा क्याच गराए । ईशान्तले २२ औं ओभरमा जोनी बेयरस्टोलाई दुई रनमा एलबिडब्लू आउट गरेपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । बराबरीमा रोक्ने इंग्ल्यान्डलाई राम्रो अवसर थियो । अर्को ओभरमा बुमराहले रुटलाई विराट कोहलीबाट क्याच गराएपछि इंग्ल्यान्ड समस्यामा परेको थियो । शिराजले मोईन अली र साम करनलाई लगातार आउट गरेपछि भारत जिततर्फ अघि बढेको थियो ।
करन दुबै खेलमा गोल्डेन डक आउट भए । मार्क वुड र जेम्श एन्डरसन दुबैले खाता खोल्न सकेनन् । समग्रमा इंग्ल्यान्डका आठ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा पाँच खेलाडी शून्यमा आाउट भए । भारतका मोहम्मद शिराजले सर्वाधिक चार विकेट लिए । बुमराहले तीन, ईशान्त शर्माले दुई मोहम्मद शामीले एक विकेट लिए ।
त्यसअघि दोस्रो इनिङमा भारतले पाँचौं दिन दोस्रो सेसनमा १०९.३ ओभरमा ८ विकेटको क्षतिमा २ सय ९८ रन बनाउँदै अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। नवौं विकेटका लागि शामी र बुमराहले १ सय २० बलमा ८९ रनको अविजित साझेदारी गरेपछि भारतले बलियो योगफल तयार पारेको थियो । शामी ७० बलमा ६ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहे ।















प्रतिक्रिया