
काठमाडौं, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुको पछिल्लो समस्या समाधनबारे तत्काल कुटीनित पहल थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आज आइतबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै विद्यमान समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहलका लागि सरकारको ध्यानकर्षण गराएका हुन् । ‘समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको २०० वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहलका लागि नेकपा (एमाले) नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकहरुका सरोकारलाई संवोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धीको समग्र पुनरवलोकन गर्ने प्रस्ताव राखेको र दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको प्रसङ्ग पनि विज्ञप्तिमार्फत एमालेले स्मरण गराएको छ ।
बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय रहेको पार्टीको ठहर छ ।
भूतपूर्व गोर्खा सैनिककरू बेलायती सहकर्मीहरुसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । यसै विषयलाई लिएर केही दिन पहिले लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरुको अनशन समेत शुरू गरेका छन् ।















प्रतिक्रिया