
नुवाकोट, ३१ साउन । नेकपा एमाले अब कुन बाटोमा अघि बढ्छ भन्ने निष्कर्ष देखा परेको छैन ।
अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीचको टकरावको शिकार भएको एमाले अझै एकता वा विभाजन भन्नेमा स्पष्ट भइसकेको छैन । तर, दुबै पक्षका नेताहरूको आआफ्नो सुगा रटाई र एकअर्कालाई गरेको सत्तोसरापलाई हेर्ने हो भने सम्भवतः अब पार्टी एकता हुने छैन ।
उनीहरू एक अर्काबाट निकै टाढा पुगिसकेका छन्, जहाँबाट अब फर्किने बाटोहरू संस्थापन पक्ष र संस्थापनइतर पक्ष दुबैले बन्द गराउँदै लगिरहेका छन् । यही मेसोमा नुवाकोट एमाले पनि नेपाल समूहलाई पाखा लगाउँदै अघि बढेको छ ।
शनिबार बट्टारमा भएको नेकपा एमाले जिल्ला कमिटिको पूर्ण बैठकले आउँदै गरेको स्थानीय निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीको विभिन्न विभाग र शुभेच्छुक संस्थाहरू हेर्नेगरी पूर्णता दिएको हो । सर्वोच्च अदालतले नेकपा एमालेलाई व्युँताइदिएपछि संगठन विस्तारमा तीव्रता दिएको एमालेले स्थानीय तह र वडाहरूबीचमा संगठनलाई विस्तार र पुनः संगठनलाई तीव्रता दिएको छ ।
एमालेको नेपाल समूहबाट क्रियाशील सांसद तथा जिल्ला अध्यक्ष नारायण प्रसाद खतिवडा पक्षलाई छोडेर एमाले नुवाकोट अघि बढेको हो । संस्थापन पक्षले बद्री मैनालीलाई यस अघि नै अध्यक्ष चयन गरी पार्टीका गतिविधि सञ्चालन गर्दै आएको छ ।
एमाले विदुर नगरकमिटी विस्तारको भेलामा अध्यक्ष मैनालीले भने, ‘पार्टी भनेको रेल हो । मन लाग्ने चढ्छन्, मन नलाग्ने ओर्लिन्छन् । तर, रेल आफ्नै गतिमा अघि बढ्छ । अब रेल रोकिदैन ।’ उनले नारायणप्रसाद खतिवडा लगायतलाई पनि पार्टीको ढोका कहिले बन्द नभएको दाबी गर्दै सधैं स्वागतको लागि तयार भएको बताए ।
शनिबार बट्टारमा भएको जिल्ला कार्यसमितिको पूर्ण बैठकमा एमाले नेता काशीनाथ अधिकारीले केपी ओलीको साहसको कारण भएका कतिपय निर्णयहरूले नेपाललाई अब भारतले कहिले पनि नाकाबन्दी लगाउन नसक्ने दाबी गरे । ओलीको बोल्ड निर्णयले भारतलाई समेत नेपालप्रति नरम हुन बाध्य पारेको बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डले पार्टीको आधिकारिक अध्यक्ष बद्री मैनाली भएकोले अरु कसैले अध्यक्षको हैसियतमा पार्टीको लेटरप्याड दुरूपयोग नगर्न चेतावनी दिए । पार्टी एकताको पक्षमा सबै रहे पनि केही नेताको ढिपीको कारण पार्टीका एउटा पक्ष बाहिरिन खोजेको मन्त्री पाण्डेले बताए ।
बैठकले पार्टीको जिल्ला तहमा रहेको ३१ वटा विभागमध्ये २७ वटालाई पूर्णता दिएको छ । यस्तै, क्षेत्र तथा प्रदेश कमिटीलाई पनि पूर्णता दिएको छ ।
बैठकले क्षेत्र नं. १ को संयोजकमा विजय खनाल, सहसंयोजकमा दिनेश अधिकारी र सचिवमा मनोज उप्रेतीलाई जिम्मेवारी दिइएको छ । क्षेत्र नं. १ प्रदेश क को संयोजकमा मिलन लामा, सहसंयोजकमा निर्गुण थापा/विकास घलान र सचिवमा प्रेमबहादुर तामाङ, प्रदेश ख को संयोजकमा जितबहादुर घले/भोला सेढाई, सहसंयोजकमा निर्मलकुमार श्रेष्ठ र सचिवमा भीमबहादुर घलेलाई जिम्मेवारी दिइएको छ ।
हेर्नुहोस् सूची–















प्रतिक्रिया