
काठमाडौं, ३० साउन । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ का विजेता किरण गजमेरलाई ‘राष्ट्रिय प्रतिभा सम्मान २०७८’ प्रदान गरिएको छ ।
आज शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच डा. खगेन्द्र स्पोटर््स फाउन्डेशनले गजमेरलाई उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रममा गायिका टीका लामिछाने, गीतकार तथा संगीतकार खेम रिजाल र समाजसेवी रुन्द्र बानियाँले समेत उक्त सम्मान प्राप्त गरेका छन् ।
डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेशनका अध्यक्ष डा. खगेन्द्र बहादुर श्रेष्ठले सम्मानित सबैलाई खादा, फुलमाला र सम्मान पत्र प्रदान गरेका थिए । सोही अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा फाउन्डेशनका अध्यक्ष डा. श्रेष्ठले बिभिन्न क्षेत्रमा रहेर राष्ट्रका लागि योगदान दिने ब्यक्तिलाई सम्मान गर्न पाउदा गर्व महसुस भएको बताए । उनले सम्मानित सबै ब्यक्तिको आगामि दिनको यात्राका लागि समेत शुभकामना दिए । वरिष्ठ गीतकार तथा धावक बुद्धवीर लामाले सम्मान प्राप्त गर्ने व्यक्तिहरुको विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेशनका महासचिव रजत श्रेष्ठ, भुटानिज अमेरिकन म्युजिक एसोसिएसन (बामा)का अध्यक्ष तथा गीतकार संगीतकार खेम रिजाल, देउडा सम्राट नन्दकृष्ण जोशी, अन्तराष्ट्रिय मेटान धावक पुष्पलाल श्रेष्ठ, संगीतिक संघ नेपालका अध्यक्ष मिलन मोक्तान र संगीतकार संघ नेपालका अध्यक्ष तथा संगीतकार पारस मुकारुङको उपस्थिति थियो ।
त्यस्तै प्राज्ञ तथा वरिष्ठ संगीतकार शान्तिराम राई, गीतकार संघका पूर्वध्यक्ष तथा गीतकार चुडामणि देवकोटा, वरिष्ठ संगीतकार राजु सिंह, गणेश गुरुङ, गायक नारायण लामा, गायिका सत्यकला राई, गायिका पार्वती गुरुङ, गायिका आभा मुकारुङ गायक रमेश बोखिम राई, शिक्षिका प्राथना खनाल, जसु लामा, बिभुषा लामा लगायतको उपस्थिति थियो ।















प्रतिक्रिया