
काठमाडौं, ३० साउन । राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ ।
एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ । आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।
राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टी एकता घोषणा गरिएको पार्टीका कार्यकारी सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए । ‘आज ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गरिएको हो । राष्ट्रिय मुक्ति आन्दोलन आज १३ वर्ष पुरा भई १४औं वर्षमा प्रवेश गरेको छ, यो अवसरमा हामीले एकता घोषणा गरेका छौं । अब यसलाई आफ्नो उद्देश्यअनुसार अघि बढाउँछौं,’ न्यौपानेले भने ।
उनले आफूहरु पार्टीका अभिभावक तथा संस्थापक नेता डा. जयन्तविक्रम शाहको मार्गनिर्देशन अनुसार अघि बढ्ने पनि बताए । पार्टीले एमसीसीको विरुद्धमा सशक्त रुपमा आवाज उठाउने बताउँदै उनले नेपालवाद, नेपाली जनता र नेपाल राष्ट्रवादलाई स्थापित र विकार गरेर लैजाने पनि उनले बताएको छ ।
त्यस्तै, कार्यक्रममा पार्टीका संस्थापक नेता तथा अधिदलपति डा.जयवन्त विक्रम शाहले पार्टी निर्माणदेखि यहाँसम्मको संघर्ष र उपलब्धिबारे प्रकाश पारेका थिए । उनले भने, ‘हामी कुनै पनि विदेशीको नक्कल नगरी नेपाल राष्ट्रवादको रुपमा विकास गरेर जानुपर्छ, खासगरी अब जनताबाट निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको सिद्धान्तमा अघि बढ्नुपर्छ ।’
उनले संसद्बाट मन्त्री नभएर विज्ञबाट मन्त्री बनाउनुपर्ने बताउँदै भने, ‘सांसदहरुलाई पावरफुल बनाउनु हुँदैन् । संसदीय फोहोरी खेल अन्त्य गर्नुपर्छ ।’
















प्रतिक्रिया