शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

एक तिहाई प्रान्तीय राजधानीमा तालिबानको कब्जामा

दैनिक नेपाल २०७८ साउन ३० गते १०:००

अफगानिस्तान, ३० साउन । तालिबानको आक्रमण तथा नियन्त्रण तीव्र गतिमा बिस्तार हुँदै गर्दा अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान पुगेको छ ।

कूटनीतिक कर्मचारी तथा अरुलाई अफगानिस्तानबाट बाहिर लैजान सहयोग गर्नका लागि लागि अमेरिकी सैनिकको टोली पुगेको हो ।

अमेरिकाले शुक्रबार कूटनीतिक तथा अरु व्यक्तिहरुलाई उद्धार गर्नका लागि तीन हजार सैनिक पठाएको हो । उनीहरु सबै हप्ताभरमा फिर्ता हुने जनाइएको छ ।

अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावासका कर्मचारीलाई संवेदनशील कागजात तथा सामग्री ध्वस्त पार्नका लागि उपकरणको व्यवस्था गरिएको जानकारी गराएको छ । विपक्षीले प्रोपोगाण्डाका लागि प्रयोग गर्न सक्ने सामग्री ध्वस्त पार्न उपकरण उपलब्ध भएको जानकारी अमेरिकाले गराएको हो ।

बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीहरुको उद्धारका लागि ६०० सैनिक पठाउने तयारी गरेको छ ।

जर्मनीले जस्तै निकै कम मात्रै कर्मचारीहरू दूतावासमा राख्ने तयारी बेलायतको छ । डेनमार्क र नर्वेले भने अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् ।

ग्रामीण क्षेत्रपछि शहरी क्षेत्रमा पनि तालिबानले नियन्त्रण कायम गर्दै गर्दा विभिन्न देशले आफ्ना कूटनीतिक कर्मचारी तथा नागरिकलाई फिर्ता लैजान हतारो गरिरहेका छन् ।

शुक्रबार तालिबान बिद्रोहीले लोघर प्रान्तको राजधानी पुल–ए–आलम नियन्त्रणमा लिएका छन् । सो शहर देशको राजधानी काबुलबाट ८० किलोमिटर मात्रै पर रहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले अफगानिस्तानको अवस्था तीव्र गतिमा खराब बन्दै गएको र यसको प्रभाव गम्भीर हुने बताएका छन् ।

बढ्दै गएको हिंसाका कारण अहिलेसम्म दुई लाख ५० हजार भन्दा धेरै मानिस विस्थापित भएका छन् ।

अमेरिकीसहित नेटोसँग आवद्ध विदेशी सैनिकको अन्तिम समूह फिर्ता हुने क्रम जारी रहेसँगै तालिबानले आफ्नो पकड बिस्तार गरिरहेको छ । अगस्ट अन्तिमसम्ममा अमेरिकी तथा सेप्टेम्बर ११ सम्ममा सबै विदेशी सैनिक फिर्ता हुने तालिका छ ।

प्रतिक्रिया
सम्बन्धित